आज तिहारको मुख्य दिन भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा दिने चलन छ । दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय विश्वाससमेत रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीकाको टीका आज दिनभर लगाउन सकिने भए पनि शुभ साइत खोज्नेहरूका लागि बिहान ११ बजेर ७ मिनेटको अभिजित् मुहूर्त उत्तम रहेको छ ।
यस वर्ष टीका लगाइदिने व्यक्ति पूर्व र लगाइमाग्ने व्यक्ति पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । सामान्यतया सप्तरङ्गी टीका लगाउने प्रचलन भए पनि शास्त्रीय मान्यतामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका उल्लेख गरिएको छ । टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटी लगायतका परिकार दिने गर्छन् । दाजुभाइले पनि आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई कपडा, उपहार र दक्षिणा दिएर सम्मान प्रकट गर्ने परम्परा छ ।

यसरी धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयतालाई अझ प्रगाढ बनाउँदै पारिवारिक सम्बन्धलाई जीवन्त राख्ने सन्देश दिन्छ । आखिर कसरी सुरु भयो त भाइटीका ? यो पनि जिज्ञासा होला । एउटा पौराणिक कथा छ, मृत्युका राजा यमराज र यमुनाको । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वी लोकमा बस्थिन् ।
परापूर्व कालमा यमराज आफ्नी बहिनी यमुनालाई भेट्न आएका थिए। त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमराज यमुनाको घरमा बसे । यसपछि यमराज खुसी भएर वरदान माग भन्दा यमुनाले संसारका सबै दिदीबहिनीले दाजुभाइलाई टीका लगाऊन् भनेर मागिन् । यसैले तिहारमा आफ्ना दाजुभाइ दीर्घजीवी होऊन् भनेर दुवोको पानी र तेलले घेरेर ओखर फोर्दै सप्तरंगी टीका लगाइदिने चलन छ ।
यही पौराणिक कथनले भाइटीकाको थालनी भएको देखिन्छ । यसबाहेक विभिन्न स्थान विशेषमा भाइटीका कसरी सुरु भयो भन्ने आ–आफ्नै कथा छ । दिदी बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

