पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ । केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
त्यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी पहाडी तथा तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यसैगरी, तराईका भू–भाग, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।
