हिउँदयाम सुरु भएसँगै मुस्ताङका उच्चलेकमा पालिएका याकचौँरीलाई बेँसी झार्न थालिएको छ । हिमपात, अत्यधिक चिसो र चरनको अभाव हुने भएकाले किसानले समुद्री सतहबाट चार हजारदेखि पाँच हजार मिटर उचाइका खर्कबाट याकचौँरीलाई बस्ती नजिक सार्न थालेका हुन् । मुस्ताङमा परम्परागत रूपमा वैशाखदेखि असोजसम्म याकचौँरीलाई उच्चलेकका पाटन र खर्कमा चराउने गरिन्छ ।
कात्तिकदेखि चैतसम्म भने चिसो र हिमपातको जोखिमबाट जोगाउन बस्ती नजिकै राख्ने चलन छ । याकचौँरी कृषक महासंघ नेपालका केन्द्रीय महासचिव सोजन हिराचनका अनुसार हिउँदयाममा उच्चलेकमा घाँस र पानीको अभाव हुने भएकाले पनि याकचौँरीलाई बेँसी झार्नुपर्छ । उच्चलेकमा पशुको आहारा व्यवस्थापन गर्न कठिन हुने र गोठालाको दैनिकीसमेत कष्टकर हुने भएकाले पाँच महिनासम्म बस्ती नजिकै राख्ने गरिएको उनले बताए ।
मुस्ताङको थासाङ गाउँपालिकामा मात्रै २७ भन्दा बढी घरधुरीले करिब एक हजार ५०० याकचौँरी पालेका छन् । त्यहाँका किसानले वर्षायाममा नीलगिरि हिमालको फेदमा पर्ने मार्चे लेक, धौलागिरि आइसफल र बतासे लेक आसपासका उच्चलेकमा घुम्ती गोठ बनाएर याकचौँरी पाल्दै आएका छन् । थासाङ–१ टुकुचेका तीन घरधुरीले करिब २५० याकचौँरी पालेका छन् ।
थासाङ–२ का सौरु, सिर्खुम, नाकुम, कोवाङ, लार्जुङ, नाउरीकोट, घट्टेखोला र छाक्ताङलगायतका गाउँमा करिब २० घरधुरीले एक हजारभन्दा बढी याकचौँरी पालेका छन् । थासाङ–४ को झिप्रा देउरालीमा दुई घरधुरीले ८० भन्दा बढी र थासाङ–५ को ताक्लुङमा दुई घरधुरीले १३० भन्दा बढी याकचौँरी पालेका छन् ।
हिराचनका अनुसार मुस्ताङका पाँचवटै स्थानीय तहमा ६७ भन्दा बढी गोठमा पाँच हजारभन्दा बढी याकचौँरी व्यावसायिक रूपमा पालिएका छन् । घरपझोङ गाउँपालिकाको जोमसोम, स्याङ र मार्फामा सात गोठमा करिब ७०० याकचौँरी छन् । वारागुङ मुक्तिक्षेत्रमा ३०० भन्दा बढी, लोमान्थाङमा एक हजार ५०० भन्दा बढी र लोघेकर दामोदरकुण्डमा करिब ४०० याकचौँरी पालिएका छन् ।
हिमाली जिल्ला मुस्ताङमा पुस्तौँदेखि चल्दै आएको याकचौँरीपालन किसानका लागि आम्दानीको स्रोत बने पनि पछिल्लो समय यसमा चुनौती थपिँदै गएका छन् । उच्चलेकमा हिमचितुवा, चितुवा र ब्वाँसोको आक्रमणबाट पशु क्षति हुने गरेको छ । जलवायु परिवर्तनका कारण चरन क्षेत्रमा घाँस कम उम्रिने र अन्य वनस्पति फैलिँदा परम्परागत चरन क्षेत्र खुम्चिन थालेको कृषि तथा पशु विकास प्रमुख डा. लालमणि अर्यालले बताए ।
बेमौसमी वर्षा, पानीका मुहान सुक्दै जानु र हिमपहिरोको जोखिमले पनि याकचौँरीपालन कठिन बन्दै गएको उनको भनाइ छ । यद्यपि सरकारी अनुदान र प्रोत्साहनका कारण पशुपालक किसानको आकर्षण बढ्न थालेको छ । कृषि तथा पशु विकास शाखा र स्थानीय तहका पशु सेवा शाखाले याकचौँरी खरिद, गोठ तथा पूर्वाधार निर्माण, आहारा व्यवस्थापन र प्राविधिक सेवामा सहयोग गर्दै आएका छन् ।
सरकारले पशुको बीमामा ८० प्रतिशतसम्म अनुदान दिन थालेपछि किसानलाई राहत पुगेको घरपझोङका याकचौँरीपालक पेम्मा गुरुङले बताए । याकचौँरीबाट दूध, दही, घिउ र छुर्पी उत्पादन गरी किसानले आम्दानी गर्दै आएका छन् । वयस्क याक मासुका लागि बिक्री हुन्छ भने पुच्छरसमेत राम्रो मूल्यमा बिक्री हुने गरेको छ । थासाङ र घरपझोङका किसानले वैशाख र साउनमा याकचौँरीको रगत बिक्री गरेर थप आम्दानी लिने गरेका छन् । मुस्ताङमा वयस्क याकको मूल्य करिब एक लाख ५० हजार रुपैयाँ पर्ने किसानहरू बताउँछन् ।
