सरकारले तल्लोतटीय क्षेत्रमा बाढीको जोखिम घटाउन चारवटा हिमतालको पानीको सतह घटाउने योजना कार्यान्वयनका लागि अहिले प्रारम्भिक कार्यशाला गर्ने र प्रतिवेदन बनाउने गरी काम सुरु गरिने जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जिव बरालले सम्झौता भइसकेको सात वर्षे यो आयोजनाको नमुना के गर्ने भन्ने विषयलाई अन्तिम रूप दिएर कार्यान्वयनमा लगिने बताएका हुन् ।
‘सुरुमा सर्भे डिजाइनहरू हुनुपर्यो र यसलाई रिडिजाइन गरेर स्वीकृत गराएपछि पानीको सतह घटाउने काम गर्न त दुई वर्षजति लाग्छ होला,’ उनले भने, ‘पहिला त टेन्डर गरेर प्रोक्युरमेन्ट प्रक्रियामा जानुपर्यो । त्यसका लागि पनि समय लाग्छ अनि कार्यान्वयनमा जान्छौँ ।’ नेपालले सन् २०२६ मा सुरु गरेर सन् २०३३ सम्ममा मनाङ, सोलुखुम्बु र संखुवासभाका चारवटा हिमतालको पानीको सतह घटाउने ‘सञ्जीवनी ग्लोफ’ आयोजना अघि बढाएको हो । हिमताल फुटेर एक्कासी आउने बाढीलाई ‘ग्लेसियल लेक आउटबस्र्ट फ्लड’ अर्थात् ग्लोफ भनिन्छ ।
तालको पानी घटाउने प्रक्रिया कस्तो हुन्छ ?
उक्त योजनाअन्तर्गत मनाङ जिल्लाको ठुलागी, संखुवासभाको लोअर बरूण, सोलुखुम्बुका लम्दिङ र होंगु–२ हिमताल रहेको र ती हिमतालका पानीको सतह घटाइने अधिकारीहरूले बताएका छन् । यी चार हिमतालमध्ये होंगु–२ को एक मिटर र बाँकीको करिब ३ मिटर पानीको सतह घटाउने योजना रहे पनि अध्ययन गर्दै जाँदा त्यसमा केही तलमाथि हुनसक्ने अधिकारीहरूले बताएका हुन् ।
यी हिमतालको पानीको सतह घटाउनका लागि ग्रीनप्लानेट फण्ड अर्थात् हरित जलवायु कोषले ३६ मिलियन अमेरिकी डलर अनुदान स्वीकृत गरेको थियो भने बाँकी करिब १४ मिलियन डलर नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले खर्च गर्ने जनाइएको छ । हिमतालबाट हुनसक्ने बाढीको जोखिम न्यूनिकरण, मौसम पूर्वानुमानमा सुधार र जोखिममा रहेका समुदायसम्म समयमै सूचना पुर्याउने कार्यक्रम समेतलाई यो योजनाले समेट्ने कार्यकारी निर्देशक बरालले बताए ।
नेपालमा जोखिममा रहेका हिमतालकै सङ्ख्या २३ रहेको र त्यसमध्ये दुईवटा तालको पानीको सतह विगतमा घटाइएको थियो भने अब चारवटा घटाउन लागिएको हो । नेपालमा यसअघि सन् २००० मा च्छो–रोल्पा र सन् २०१६ मा इम्जा हिमतालको पानीको सतह घटाइएको थियो । च्छो रोल्पा र इम्जा हिमतालको पानीको सतह ३ मिटर र ३.४ मिटर घटाइएको थियो । ती तालहरूको सतह घटाएर जोखिम कम हुने भए पनि हिमतालबारे पूर्वसूचना प्रणाली लगायत तल्लोतटीय क्षेत्रमा पर्ने असर जस्ता कुराहरूमा पनि उत्तिकै जोड दिनुपर्ने विज्ञहरूले बताएका छन् ।
सन् २००० मा च्छो–रोल्पा हिमतालको पानीको सतह घटाएर त्यसले सन् २०१५ मा विनाशकारी भूकम्प जाँदा असर नगरेको ठानिएको एक हिमनदी विज्ञले बताएका छन् । हिमनदी विज्ञ तथा काठमाडौं विश्वविद्यालयका सिनिअर भिजिटिङ प्रोफेसर रिजनभक्त कायस्थले पानीको सतह घटाउने भनिएका चार हिमतालमध्ये पहुँचका हिसाबले सोलुखुम्बुका लुम्दिङ च्छो र होंगु–२ हिमतालमा काम गर्न अलि चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । ‘मनाङको ठुलागी हिमतालमा पहुँच सजिलै छ । त्यहाँ बाटो पनि छ । मानिसहरू पनि गइरहेकै हो । लोअर बरूण पनि ठिकै हो ।’ उनका अनुसार त्यहाँ ट्रेकिङ वा माउन्टेनियरिङका लागि रूट नै छन् ।
‘तर लिम्दिङ र होंगु–२ मा चाहिँ रूटहरू छैन,’ उनले भने, ‘त्यहाँ उचाइ पनि धेरै छ र लुम्दिङ च्छो हिमताल भिरमा पर्छ ।’ यी तालहरूबाट पानी घटाउँदा भोलि हिमनदी विस्फोट भएर बाढी आइहाले पनि क्षति कम होस् भन्ने उद्देश्यले तीन मिटर सुझाइएको हिमनदी विज्ञ कायस्थले बताए । उनले भने, ‘यसरी ती हिमतालको पानीको सतह कम गर्दा अलिकतिमात्रै जोखिम कम हुन्छ । त्योसँगै यो पूर्वसूचना प्रणाली पनि दह्रोसँग अगाडि बढाउनुपर्ने हुन्छ ।’ यी तालहरूको पानी पहिलादेखि नै घटाउनुपर्ने भए पनि निकै धेरै खर्च लाग्ने यी आयोजनाका लागि आर्थिक कठिनाइ रहेको उनले बताए ।
विगतमा दुईवटा तालको पानीको सतह घटाउँदाको अनुभवसहितका आधारमा अब काम गरिने जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ । ‘विगतका अनुभवहरू पनि समीक्षा गरेर सिकेका पाठका आधारमा अबका दिनमा कार्यान्वयन अझ प्रभावकारी गर्छौँ भन्ने विश्वास छ,’ केन्द्रका कार्यकारी निर्देशक बरालले भने, ‘हालैका विपद्का घटना (भोटेकोशी र बुढीगण्डकी नदीमा आएका बाढी)बाट पनि पाठ भएको छ । कस्ता किसिमका पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ, बाढीसँगै आएका डेब्रीको असर के हुन्छ, हिउँ चट्टानका कुराले पनि पाठ भएको छ । यो बीचमा प्रविधिमा धेरै परिवर्तन आइसकेको छ । प्रविधिलाई इन्कर्पोरेट गरेर कामहरू गरिन्छ ।’
