कुनै समय गाउँलेको अन्न भित्र्याउने साझा थलोका रूपमा रहेका खल्यान अहिले प्रयोगविहीन बन्दै गएका छन् । धान काट्ने याम सुरु भएसँगै गाउँले मिलेर सफा गर्ने, लिपपोत गर्ने र धानका खरी लगाएर सामूहिक रूपमा दाइँ गर्ने खल्यान आधुनिक कृषि प्रविधिको प्रयोग बढेसँगै हराउँदै गएका हुन् । पहिले खेतबाट काटेर ल्याएको धान गाउँको साझा खल्यानमा जम्मा गरिन्थ्यो ।
धानका खरी लस्करै लगाइन्थे भने गोरु र राँगाको सहायताले सामूहिक रूपमा दाइँ गरेर अन्न भित्र्याइन्थ्यो । अन्न भण्डारणको तयारीसँगै गाउँलेबिच श्रमको आदान प्रदान, सहयोग र भेटघाटको अवसरसमेत जुट्थ्यो । अहिले खेतमै खल्यान बनाएर थ्रेसरबाट धान झाँट्ने चलन बढेपछि दाङका विभिन्न गाउँमा परम्परागत साझा खल्यानको प्रयोग घट्दै गएको छ ।
दङ्गीशरण गाउँपालिका–५, डाँडाचिसका अङ्गलाल चौधरीका अनुसार खेतीपातीमा आधुनिक प्रविधिको प्रयोग बढेसँगै गाउँको साझा खल्यानको महत्व घटेको हो । उनले भने, ‘पहिला गाउँका सबैले एउटै खल्यान प्रयोग गर्थे । धान काटेर ल्याउने, खरी लगाउने र दाइँ गर्ने काम सामूहिक रूपमा हुन्थ्यो । अहिले खेतमै धान झाँट्न थालेपछि गाउँका खल्यान प्रयोग हुन छाडेका छन् ।’
खल्यानको प्रयोग घटेसँगै कतिपय स्थानमा त्यस्ता सार्वजनिक स्थलको उपयोगसमेत फेरिएको छ । घोराही उपमहानगरपालिका–१७, गुलरियामा पुरानो खल्यान रहेको क्षेत्रमा सामुदायिक भवन र मठमन्दिर निर्माण गरिएका छन् । त्यसै गरी घोराही उपमहानगर पालिका–३, झिङ्नीको खल्यान रहेको जमिनमा वडा कार्यालय र स्वास्थ्य चौकी निर्माण गरिएको छ ।
कृषि अभ्यासमा आएको परिवर्तनसँगै गाउँका सार्वजनिक स्थलको स्वरूप र उपयोग पनि बदलिँदै गएको छ । दङ्गीशरण गाउँपालिका–५, हेकुलीका भीमबहादुर चौधरीको अनुभवमा कुनै समय ५२–५३ घरधुरीले प्रयोग गर्ने गाउँको साझा खल्यान अहिले खाली छ । घरधुरी बढ्दै गए पनि खेतीपाती गर्ने तरिका फेरिएकाले खल्यानको पुरानो उपयोग कायम रहन नसकेको उनी बताउँछन् ।
‘पहिला धान काट्ने समय भएपछि गाउँका सबै घरधुरी मिलेर खल्यान सफा गथ्र्यौं, लिपपोत गर्थ्यौं र आआफ्नो धान ल्याएर राख्थ्यौँ,’ उनले भने, ‘अहिले खेतमै धान झाँट्ने चलन बढेपछि गाउँको खल्यान खाली छ ।’ सोही गाउँकी बजारी चौधरीलाई आधुनिक प्रविधिले खेतीपातीको काम सहज बनाए पनि त्यससँग जोडिएको सामूहिक जीवनशैली हराउँदै गएकोमा चिन्ता छ ।
उनका अनुसार साझा खल्यानमा धान भित्र्याउने समयमा गाउँलेबीच भेटघाट हुने, सुख दु:ख साटासाट गर्ने र काममा अप्ठ्यारो परेकालाई सघाउने चलन थियो । ‘धान काट्ने याम लागेपछि गाउँको साझा खल्यान सफा गर्ने र लिपपोत गर्ने चलन थियो । सबैको भेटघाट हुन्थ्यो । कसैलाई काम गर्न गाह्रो परे अरूले सघाउँथे,’ उनले भने, ‘अहिले सबै काम घर घरमै हुन थालेपछि भेटघाट र सहकार्य पनि घट्दै गएको छ ।’
