२०८३ कात्तिक १४ , शुक्रबार 30, October 2026, Friday

चक्रवात ‘अर्नब’को प्रभाव, भारी वर्षा र हिमपातको चेतावनी

पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालका विभिन्न भागमा देखिन थालेको छ । हिजोदेखि नै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ ।

कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो देशका अधिकांश स्थानमा बादल लाग्ने पूर्वानुमान गरेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ ।

त्यस्तै, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्न सक्ने महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि देशका अधिकांश स्थानमा बादल लाग्ने तथा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुने अनुमान गरिएको छ । केही स्थानमा भारी वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले सम्भावित वर्षालाई मध्यनजर गर्दै आज र भोलि धानबाली भित्र्याउने लगायत कृषि कार्य नगर्न अनुरोध गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ । त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १४ गते शुक्रबार