२०८३ कात्तिक १४ , शुक्रबार 30, October 2026, Friday

नरैनापुरबाटै सुरु भयो करदाता सेवा

बाँकेको दुर्गम र पिछडिएको क्षेत्र नरैनापुर गाउँपालिकाबाट पहिलो पटक करदाता सेवा केन्द्रमार्फत सो क्षेत्रका करदातालाई औपचारिक रूपमा करदाता सेवा सुरु गरिएको छ ।

स्थानीय स्तरमै सहजरूपमा कर सेवा उपलब्ध गराउने उद्देश्यका साथ सो सेवा दुर्गम ग्रामीण क्षेत्रमा सुरु गरिएको नरैनापुर गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार सेवा सुरु भएसँगै स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई प्यान नम्बर लिन, कर बुझाउन तथा कर सम्बन्धी अन्य सेवाका लागि सदरमुकाम नेपालगन्ज धाइरहनुपर्ने झन्झटिलो बाध्यताको अन्त्य भएको छ ।

गाउँपालिकाभित्रै करदाता सेवा केन्द्र स्थापना गरी सेवा केन्द्रले आफ्नो पहिलो आन्तरिक राजस्व कार्यालय नेपालगन्ज अन्तर्गतको व्यवसायिक स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र जारी गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वली र करदाता सेवा केन्द्रका शाखा प्रमुख मुकद्दर अली मुकेरीले संयुक्त रूपमा पहिलो करदाताको रूपमा नरैनापुर गाउँपालिका वडा नम्बर २, बैउहवा निवासी जन्नतुल पठानिनलाई प्यान प्रमाणपत्र हस्तान्तरण गरे ।

पठानिनले आफ्नो व्यवसाय (मदिना परफ्युम एण्ड जनरल स्टोर)का लागि स्थायी लेखा नम्बर (६२५२६८८४३) प्राप्त गरेकी छन् । जसले अत्तर, जस्ता सुगन्धित एवम् सौन्दर्यवर्धक कस्मेटिक सामान, साबुन र किराना पसल लगायतका सामानहरूको थोक तथा खुद्रा बिक्री गर्नेछ ।

प्रमाणपत्र हस्तान्तरण गर्दै प्रमुख प्रशासकीय अधिकृत वलीले गाउँपालिकाले आफ्नै क्षेत्रभित्र कर सेवा विस्तार गरेपछि स्थानीय स्तरमै सहज, छिटो र छरितो ढङ्गले आर्थिक प्रशासनिक कामहरू अगाडि बढ्ने र यसले व्यवसायीहरूलाई कानुनी दायरामा आउन थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

यस्तै करदाता सेवा केन्द्र प्रमुख मुकद्दर अली मुकेरीले अब नरैनापुरका करदाताहरूले आफ्नै घरपायक स्थानबाट कर सम्बन्धी सम्पूर्ण सेवाहरू सुरक्षित र व्यवस्थित रूपमा पाउने प्रतिवद्धता जनाए । उनका अनुसार करदाता सेवा केन्द्रको सुरुवातसँगै आगामी दिनमा गाउँपालिकाको राजस्व सङ्कलन थप प्रभावकारी हुने छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १४ गते शुक्रबार