खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘इनर्जी ड्रिङ्क्स’ लाई पानी, जुस, दुध, वा मोही जस्ता पौष्टिक पेय पदार्थको विकल्पमा पिउन नहुने जनाएको छ । विभागले ‘इनर्जी ड्रिङ्क्स’लाई पानी, दुध वा मोही सरह पिएमा स्वस्थ व्यक्तिमा पनि गम्भीर प्राकृतिक स्वास्थ्य समस्या आउन सक्नेतर्फ सचेत गराएको हो ।
आमउपभोक्तालाई ‘इनर्जी ड्रिङ्क्स’को लेबलमा उल्लेखित सचेतना सन्देश पालना गर्न आग्रह गर्दै विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मुटु, मधुमेहका बिरामी र क्याफिनप्रति संवेदनशील व्यक्तिले ‘इनर्जी ड्रिङ्क्स’ को उपभोग नगर्न निर्देशन दिएको छ ।
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले उपभोग गर्न मिल्ने व्यक्तिले पनि नियमित नभएर कहिलेकाहीँ ३३० मिलिलिटरसम्मका अधिकतम दुई क्यानसम्म सेवन गर्न सक्ने बताए । यस्ता ‘इनर्जी ड्रिङ्क्स’ मा क्याफिनको मात्रा अधिक हुने भएकाले अन्य पेय पदार्थ सरह नियमित पिउनु घातक हुने उनको भनाइ छ ।
उनका अनुसार मुटु, मधुमेह, उच्च रक्तचाप, मिर्गौलाका बिरामीले यस्ता पेय पदार्थ सेवन गर्नै हुँदैन । हाल नेपाल सरकारबाट अनुमति लिएर १७ वटा उद्योगले ‘इनर्जी ड्रिङ्क्स’ उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन् । प्रयोगशालाको विश्लेषण प्रतिवेदन र लेबल विवरण अनुसार नेपाली उत्पादनमा प्रति क्यान १०० मिलिग्राम (तोकिएको सुरक्षित मात्राको २५ प्रतिशतभन्दा कम) मात्र क्याफिन प्रयोग भएको पाइएको छ ।
जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डको सीमाभित्रै हो तर ‘इनर्जी ड्रिङ्क्स’ हरूको विज्ञापन भने अस्वाभाविक देखिएकाले नियन्त्रण गर्नुपर्ने अवस्था रहेको विभागका महानिर्देशक कर्णले बताए । उनले विभागले यसका उत्पादकहरूले आवश्यकताभन्दा बढी विज्ञापन गरेर उपभोक्तालाई उत्तेजित बनाउने काम गरेको पाइएकाले यसको नियन्त्रणका लागि नयाँ मापदण्ड ल्याउने गरी सरोकारवालासँग छलफल सुरु गरेको जानकारी दिए ।
‘इनर्जी ड्रिङ्क्स’ का उत्पादक तथा विक्रेताले प्रचलित कानुनबमोजिम अनुमति लिएर मात्र विज्ञापन सञ्चालन गर्नुपर्ने र लेबलमा सचेतनामूलक सन्देश तथा सुरक्षित मात्रा अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन प्रतिकूल कार्य गर्ने व्यवसायीमाथि ऐनको व्यवस्था अनुसार कानुनी कारबाही हुने विभागले चेतावनी दिएको छ ।
विभागका अनुसार ‘इनर्जी ड्रिङ्क्स’ लाई पानी, जुस, दुध, वा मोही जस्ता पौष्टिक पेय पदार्थको सट्टामा नपिउन र अन्य पेय पदार्थमा मिसाएर नपिउन सचेत गराएको छ । विभागका अनुसार ‘इनर्जी ड्रिङ्क्स’ अल्कोहल–रहित क्याफिनेटेड पेय पदार्थ हो, जसमा मुख्य रूपमा क्याफिन, गुवारना, ग्लुकुरोनोल्याक्टोन, टाउरिन, इनोसिटोल, कार्निटिन, भिटामिन–बी, चिनी, पानी तथा अन्य खाद्य योगशील प्रयोग गरिन्छ ।
युरोपेली खाद्य सुरक्षा प्राधिकरण (इएफएसए) अमेरिकी खाद्य तथा औषधी प्रशासन (युएस–एफडिए) जस्ता अन्तर्राष्ट्रिय निकायका अनुसार एक स्वस्थ र वयस्क व्यक्तिले दैनिक कुल चार सय मिलिग्रामसम्म क्याफिन उपभोग गर्नु सुरक्षित मानिन्छ ।
