बाँकेको नेपालगन्ज लगायतका सहरी क्षेत्रमा इलेक्ट्रिक रिक्साको सङ्ख्या बढेसँगै दुर्घटनासमेत बढ्दै गएको छ । अधिकांश चालकसँग सवारी चालक अनुमतिपत्र नहुनु, तालिमको अभाव र प्रभावकारी नियमन हुन नसक्दा दुर्घटना नियन्त्रण तथा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज, कोहलपुर र खजुरालगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा इ–रिक्सा सञ्चालनमा छन् । तीमध्ये धेरै चालकसँग अनुमतिपत्र नभएको र कतिपय रिक्साको दुर्घटना बीमासमेत नगरिएको पाइएको कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, कोहलपुरका प्रमुख कनकबहादुर शाहीले चालकलाई आवश्यक तालिम र अनुमतिपत्रबिना इ–रिक्सा चलाउन दिँदा दुर्घटनाको जोखिम बढेको बताए । उनका अनुसार इ–रिक्साको सङ्ख्या र सञ्चालनलाई व्यवस्थित गर्न कठिन भइरहेको छ ।
‘हामीले व्यवस्थित गर्न धेरै प्रयास गरेका छौँ, तर सबै रिक्साचालकसँग अनुमतिपत्र र तालिम नहुँदा व्यवस्थापन निकै चुनौतीपूर्ण बन्दै गएको छ,’ उनले भने । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/०८३ मा १७९ वटा इ–रिक्सा दुर्घटनामा परेका छन् ।
यसअघि आव २०८१/०८२ मा १०४ र आव २०८०/०८१ मा १२ वटा इ–रिक्सा दुर्घटना भएका थिए । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कले इ–रिक्सा दुर्घटनाको सङ्ख्या बढ्दै गएको देखाउँछ । नेपालगन्ज उपमहानगरपालिकाले दुई वर्षअघि कागजात नभएका केही इ–रिक्सा नियन्त्रणमा लिएर कानुन बमोजिम नष्ट गरेको थियो ।
तर, रिक्सा व्यवसायी तथा मजदुरको विरोधपछि व्यवस्थापनको प्रयासले निरन्तरता पाउन नसकेको जनाइएको छ । नेपालगन्जमा सञ्चालनमा रहेका इ–रिक्साको वास्तविक सङ्ख्या यकिन छैन । उपमहानगरपालिकामा करिब एक हजार ७०० इ–रिक्सा दर्ता भए पनि नेपालगञ्जमा मात्रै १० हजारभन्दा बढी इ–रिक्सा सञ्चालनमा रहेको अनुमान छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले इ–रिक्सा व्यवस्थापन चुनौतीपूर्ण बनेको बताए । उनले इ–रिक्साको सङ्ख्या बढ्दै जाँदा नियमन गर्न कठिन भएको र यातायात कार्यालयबाट आवश्यक सहयोग नपाएको गुनासो गरे । ‘रिक्साको सङ्ख्या बढ्दै जाँदा नियमन गर्न कठिन भइरहेको छ । यातायात कार्यालयसँग सहयोग माग्दा सहयोग गर्दैन,’ उनले भने, ‘ट्राफिक प्रहरीले पनि अन्य सवारीसाधनलाई जस्तै इ–रिक्सालाई कारबाही गर्न सकेको छैन ।’
स्थानीय नागरिकले ट्राफिक प्रहरी, उपमहानगरपालिका र यातायात सम्बन्धी निकायबाट प्रभावकारी नियमन हुन नसक्दा इ–रिक्सा सञ्चालनमा मनपरी बढेको बताएका छन् । नेपालगन्जका व्यवसायी कृष्णप्रसाद श्रेष्ठले अधिकांश चालकसँग अनुमतिपत्र नहुनु, जथाभावी इ–रिक्सा चलाउनु र जहाँ पायो त्यहीँ रोक्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको बताए । उनले समयमै इ–रिक्साको व्यवस्थापन र नियमनमा कडाइ नगरिए थप समस्या निम्तिन सक्ने बताए ।
