२०८३ कात्तिक १२ , बुधबार 28, October 2026, Wednesday

दसैंमा महिला सहकारीले बेच्यो ७०० खसीबोका

बाँकेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका महिलाहरूले यसपटकको दसैंमा ७०० वटा खसीबोका बिक्री गरेका छन् । राप्तीसोनारी–६ फत्तेपुरमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका गाउँका करिब ४०० किसान महिलाहरूले यस वर्ष ७०० वटा खसीबोका बिक्री गरेका हुन् ।

नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष गंगा शाहले यसपटक दसैंको बेला व्यापारी र उपभोक्ता दुवैले सहकारीमा नै आएर ७०० रुपैयाँ किलोको दरले जिउँदो खसीबोका तौलेर खरिद गरेको जनाउँदै सोहीबाट महिलाहरूले दसैंको खर्च जुटाएका हुन् ।

‘महिला दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीका लागि सहकारीमा लिएर आउनुहुन्छ, उहाँहरूले नै तौल गराउनुहुन्छ । हामीले उहाँहरुकै उपस्थितिमा बिक्री वितरण गर्ने गरेका छौँ,’ संस्थाकी अध्यक्ष शाहले भनिन्, ‘यो वर्षको दसैंमा ७०० खसीबोका बिक्री भएका छन् ।’ सहकारीमार्फत व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले खसीबोका बिक्री गर्दै आएका छन् ।

महिलाहरूले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष शाहको भनाइ छ । उनले बाख्रा पालनमा लागेका किसान महिलाले वर्षमा अहिले १० देखि १२ वटासम्म खसी बिक्री गर्न थालेको बताइन् ।

गाउँमा महिला समूहमा आवद्ध हुनेहरूले घरमा पालेका खसीको बजार व्यवस्थापनको काम नयाँ सिर्जनशील उद्यमी महिला सहकारी संस्थाले गर्न थालेपछि बजार खोज्ने र ठगिने झन्झटबाट दिदीबहिनीहरू मुक्त भएको किसान महिलाको भनाइ छ । फत्तेपुरका महिला किसान सावित्री चौधरीले खसी बोकालार्ई सहकारीले आफैँ बिक्री गर्न थालेपछि बजार खोज्ने र व्यापारीबाट ठगिने दुवै झन्झटबाट मुक्ति मिलेको बताइन् ।

उनले फत्तेपुरका महिलाले प्रत्येक वर्ष दसैं र बकराइदमा ठुलो संख्यामा खसीबोका बिक्री गर्ने गरेको जनाइन् । सहकारीमा आवद्ध भएर बाख्रा पालनमा लागेका महिलाहरुका खसीबोका राम्रै मूल्यमा बिक्री हुन थालेपछि महिलाहरूलाई घर खर्च चलाउनसमेत सहज बन्दै गएको सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङले बताइन् । उनले सहकारी संस्थामा आवद्ध एक हजारभन्दा बढी महिलाले बाख्रापालन, धानखेती, मकैखेती र गहुँखेती समेत गरिरहेको जनाइन् ।

प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बुधबार