कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधिको दायरा फराकिलो बनाएको छ । यसवर्षको एनपीएलमा नेपाल क्रिकेट संघ (क्यान)ले प्रायोजन र टिकट बिक्री लगायतका स्रोतबाट एक अर्ब ५० करोड रुपैयाँको कारोबार हुने अनुमान गरेको छ ।
आठवटा फ्रेन्चाइज टोलीका खेलाडी, प्रशिक्षक र अन्य सदस्यको बसोबासदेखि खेल हेर्न आउने दर्शकको आवागमनले होटल, रेस्टुरेन्ट र यातायात व्यवसायमा समेत कारोबार उल्लेख्य रूपमा बढाएको छ । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहका अनुसार एनपीएलका आठवटै फ्रेन्चाइज टोली काठमाडौंका विभिन्न पाँचतारे होटलहरूमा बसेका छन् ।
यसले होटलको व्यापार बढ्नुका साथै नेपालमा खेल पर्यटन विस्तारको बलियो सम्भावना देखाएको छ । ‘आठवटा फ्रेन्चाइज टोलीका सदस्यहरू ठूला पाँचतारे होटलमा बसेका छन् । यसले होटलको व्यापार बढाएको छ । टोलीका सदस्यबाहेक खेल हेर्न आउने दर्शकले पनि होटलमा बस्ने, खाने र यातायात प्रयोग गर्ने भएकाले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्छ,’ शाहले भने ।
उनका अनुसार एनपीएलले तत्कालीन रूपमा होटल व्यवसायमा कारोबार बढाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने सुनौलो अवसरसमेत दिएको छ । प्रतियोगिता टेलिभिजनमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुगिरहेकाले त्यसलाई नेपालको पर्यटन प्रचारसँग जोडेर दीर्घकालीन लाभ लिन सकिने उनको भनाइ छ ।
एनपीएललाई खेल पर्यटनको माध्यम बनाउन होटल व्यवसायी, नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र क्यानले संयुक्त योजना बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । एनपीएलको प्रभाव ठूला होटलमा मात्र सीमित नरहेर खेल हेर्न कीर्तिपुर पुग्ने दर्शकका कारण मैदान आसपासका खाजा पसल तथा अन्य साना व्यवसायमा पनि कारोबार बढ्ने अवसर सिर्जना भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले पनि एनपीएलजस्ता खेलकुद गतिविधिले युवा वर्गलाई उत्साहित बनाउनुका साथै निजी क्षेत्रको बजार चलायमान बनाउन र पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताएका छन् । यस्ता प्रतियोगितालाई निरन्तरता दिन सके होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा आर्थिक गतिविधि अझ मजबुत हुने उनको भनाइ छ ।
त्रिवि क्रिकेट मैदानबाहिर एनपीएल अवधिभरका लागि खाजा पसल सञ्चालन गरिरहेका स्थानीय होटल व्यवसायी नरेन्द्र कोजुका अनुसार खेल हुने दिन दर्शकको आवागमनले व्यापार गर्ने गतिलो अवसर प्रदान गरेको छ । यस प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, जनकपुर बोल्ट्स र विराटनगर किंग्स गरी आठ टोली सहभागी छन् ।
विभिन्न क्षेत्रका टोली र तिनका समर्थकहरूको काठमाडौं आउने क्रमले स्थानीय व्यापारलाई थप चलायमान बनाएको छ । अन्तर्राष्ट्रिय खेल प्रतियोगितालाई पर्यटन प्याकेज, होटल सेवा र नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूसँग जोड्न सके एनपीएलले थप आर्थिक अवसर सिर्जना गर्ने विश्वास गरिएको छ । एनपीएलले होटल तथा स्थानीय व्यवसायमा तत्कालीन कारोबार बढाउने गतिलो अवसर दिएको भए पनि यसलाई दीर्घकालीन खेल पर्यटनमा रूपान्तरण गर्न सरकारी निकाय र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य देखिएको छ ।
