नेपालीको राष्ट्रिय चाड दसैँ आजदेखि सुरु भएको छ । महोत्तरीसहित मिथिला क्षेत्रमा दसैँलाई दशहरा (शारदीय नवरात्र) का रूपमा मनाइने भएकाले गाउँदेखि सहरसम्म चहलपहल बढेको छ । शारदीय नवरात्रको पहिलो दिन आज घटस्थापनाका लागि देवी शक्तिपीठ, दुर्गा प्रतिमा निर्माणस्थल र घरघरमा देवी आराधनाका भजन गुञ्जिन थालेका छन् ।
मैथिल जनबोलीमा दशहरा भनिने दसैँको पहिलो दिन मिथिला क्षेत्रमा देवी दुर्गाको महिमासम्बन्धी भजन गाउन थालिएको छ । देवी दुर्गाको आराधना गरिने मिथिलामा दुई नवरात्र प्रचलनमा छन् । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रलाई शारदीय र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रलाई वासन्ती नवरात्र भनिन्छ ।
वर्षमा दुई नवरात्र मनाउने परम्परा भए पनि मिथिला क्षेत्रमा दशहरा शारदीय नवरात्रलाई नै भन्ने गरिएको मैथिली संस्कृतिविद् ध्रुव रायले बताए । शारदीय नवरात्रको पहिलो दिन आज आइतबार मिथिला क्षेत्रका प्रसिद्ध देवी शक्तिपीठ र मन्दिरमा घटस्थापनाका लागि एकाबिहानैदेखि पवित्र जलाशयबाट जल ल्याउन कलशयात्राको तयारी गरिएको छ ।
मिथिला परम्पराअनुसार अविवाहित किशोरीले धार्मिक महत्त्वका नदी तथा तलाउबाट नयाँ घडामा जल ल्याउँछन् । त्यही जलले देवीका प्रतिमा र मन्दिर परिसर सिञ्चित गरी कलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिन्छ । महोत्तरीका प्रसिद्ध देवी शक्तिपीठ औरही–७ भोइलस्थित सोनासती (सोनामाई) स्थान, बर्दिबास–४ स्थित पञ्चधुरा माईस्थान, जलेश्वर–१ स्थित सन्सारी माई र राजदेवी मन्दिरमा एक हजार आठ कन्याले कलशयात्रा गर्ने तयारी छ ।
उनीहरूले रातु नदी तथा लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड र भार्गवसरलगायत धार्मिक महत्त्वका तलाउबाट नयाँ शुद्ध घडामा पवित्र जल ल्याएर मन्दिर परिसरमा पुर्याउनेछन् । सामान्यतया नवरात्र प्रतिपदादेखि नवमीसम्म नौ दिन हुने भए पनि यसपालि तिथिको घटबढका कारण १० दिनको परेको छ । मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गअनुसार आज सुरु भएको नवरात्र आगामी कात्तिक ३ गते मङ्गलबारसम्म रहनेछ ।
मिथिला क्षेत्रमा चाडपर्व, लग्न र मुहूर्त निर्धारण गर्न यी दुई पञ्चाङ्गको प्रयोग गर्ने चलन छ । पर्वका अवसरमा विभिन्न स्थानमा निर्माण गरिएका देवी प्रतिमास्थलमा पनि आज कलशयात्रासहित घटस्थापना गरिँदै छ । मन्दिरमा जौ, तिल, गहुँ, धान र मकैको जमरा राख्ने तयारी छ । महोत्तरीमा ४० स्थानमा दुर्गा मेला आयोजना गरिएका छन् । तीमध्ये सोनामाई, जलेश्वर, मटिहानी, रामगोपालपुर, गौशाला र सीतापुरबजारका मेला विशेष मानिन्छन् ।
मधेस प्रदेशका मिथिला क्षेत्रमा महोत्तरीका पञ्चधुरा माई र सोनामाई, सप्तरीका सकरा भगवती, कङ्कालिनी माई र छिन्नमस्ता, जनकपुरको राजदेवी मन्दिर तथा बाराको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा पूजित छन् । मैथिल हिन्दू परम्परामा घरघरमा देवी दुर्गाको पूजाअर्चना र चण्डी पाठ गर्ने चलन छ । दशहरा सुरु भएसँगै महोत्तरीका गाउँ तथा नगरमा युवापुस्ता लिङ्गे पिङ गाड्ने तयारीमा जुटेका छन् । बस्तीबस्तीमा देवी दुर्गाका प्रतिमा बनाएर दुर्गा मेला आयोजना गरिँदैछ ।
नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुश्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधना गरिन्छ । प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको पूजाआजा नवमीसम्म चल्छ । दशमीका दिन देवीको पूजन विसर्जन गरी प्रसादस्वरूप जमरा लगाएपछि मैथिल परम्पराको शारदीय नवरात्र सम्पन्न हुन्छ । पर्वका अवसरमा महोत्तरीमा सुरक्षा व्यवस्था मजबुत बनाउन जिल्ला सुरक्षा समितिले एकीकृत सुरक्षा योजना लागू गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित एक हजार ३३१ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । असत्यमाथि सत्यको विजयको प्रतीक मानिने यस पर्वका क्रममा देवी दुर्गाले चण्ड–मुण्ड, शुम्भ–निशुम्भ र महिषासुरलगायत राक्षसको संहार गरेको देवीभागवतमा उल्लेख छ । नवरात्रमा देवी दुर्गाको उपासना गर्दा मन, वचन र कर्ममा शुद्धता आउने तथा सत्कर्म, सद्विचार र सदाचारमा प्रवृत्त हुने धार्मिक विश्वास छ ।

