२०८३ मंसिर ३ , बिहीबार 20, November 2026, Friday

दसैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

यसपालिको दसैं तथा चाडपर्वमा नयाँ नोट साट्न राष्ट्र बैंक धाउनुपर्ने बाध्यता कम हुने भएको छ । दसैं लगायत चाडपर्वमा नयाँ नोट साट्न सहज होस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटिएम मेसिनबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटिएम मेसिनबाट १०० रुपैयाँका नोट वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वमा सुकिला तथा सफा नोट उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए ।

‘एकातर्फ पैसा साट्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो । यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन,’ राष्ट्र बैंकका प्रवक्ता पौडेलले भने, ‘चाडपर्वकै मुखमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति भएकाले दसैं मनाउन भनेर सूचना जारी गर्न पनि उपयुक्त देखिएन । हामीले यही ढंगले व्यवस्था गरेका हौँ ।’

उनका अनुसार गत भदौ ३१ गतेसम्म बजारमा सात खर्ब ९४ अर्ब रुपैयाँ बराबरको मुद्रा चलनचल्तीमा रहेको थियो । दसैँका बेला उक्त रकममा करिब आठदेखि १० प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ । यसअनुसार दसैंका बेला बजारमा थप करिब ६३ अर्ब ५२ करोडदेखि ७९ अर्ब ४० करोड रुपैयाँसम्म मुद्रा चलनचल्तीमा आउन सक्ने देखिन्छ ।

राष्ट्र बैंकले नयाँ नोटभन्दा सुकिला र सफा नोटको प्रयोगलाई प्राथमिकता दिएकाले चाडपर्वका बेला नोट सटही तथा वितरण गर्न सोही अनुसार यही असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूबाट सुकिला र सफा नोट वितरण भइरहेको छ । प्रवक्ता पौडेलले पछिल्ला चार–पाँच वर्षदेखि चाडपर्व लक्षित नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास भइरहेको पनि बताए ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधबार