नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र शुरू हुँदैछ । बन्दसत्र शुरू हुनुअघि पार्टीको आन्तरिक संरचनालाई थप समावेशी र फराकिलो बनाउने उद्देश्यले केन्द्रीय समिति बैठक बसिरहेको छ । बैठकमा विधान संशोधन प्रस्ताव प्रस्तुत गरिएको छ ।
पार्टीभित्र पदको आकांक्षा राख्ने नेताहरूको संख्या बढ्दै गएको र समावेशी प्रतिनिधित्वलाई अझ सुदृढ गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै पदाधिकारी र विभिन्न क्लस्टरका केन्द्रीय सदस्यहरूको संख्यामा भारी फेरबदल गर्ने प्रस्ताव तयार पारिएको हो । यो प्रस्तावलाई केन्द्रीय समितिबाट पारित गराएर महाधिवेशनको बन्दसत्रमा पेस गर्ने अन्तिम तयारी छ ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रस्तावित नयाँले अब पार्टीमा पदाधिकारीहरूको आकार पनि बढ्ने भएको छ । जसअनुसार हालको व्यवस्थामा फेरबदल गर्दै उपसभापति तीन जना र महामन्त्री पनि तीन जना नै राख्ने प्रस्ताव बैठकमा पेश गरिएको छ । त्यस्तै, पार्टीको साङ्गठनिक सुदृढीकरणमा महत्वपूर्ण मानिने सहमहामन्त्री पदमा पनि संख्या थप गरिएको छ ।
यसअघि कायम रहेका ११ वटा सहमहामन्त्री पदमा थप चार वटा पद जोडेर कुल १५ पुर्याउने प्रस्ताव गरिएको छ, जसमा कम्तीमा चार जना महिला सहमहामन्त्री हुनैपर्ने अनिवार्य व्यवस्था प्रस्ताव गरिएको छ । केन्द्रीय समितिको कूल आकारलाई पनि फराकिलो बनाइएको छ । खुलातर्फ केन्द्रीय सदस्यमा १० वटा सिट थप गरेर अब संख्या ४५ पुर्याइएको छ भने विभिन्न समावेशी तथा क्षेत्रीय क्लस्टरहरूमा पनि प्रतिनिधित्व बढाइएको छ ।
प्रस्तावअनुसार प्रत्यक्ष निर्वाचित महिला केन्द्रीय सदस्यको संख्या १२ पुर्याइएको छ भने प्रत्येक प्रदेशबाट चार जनाका दरले जम्मा २८ जना केन्द्रीय सदस्य रहने व्यवस्था प्रस्ताव गरिएको छ । त्यसैगरी, विभिन्न सामाजिक तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न दलिततर्फ ५ मा ७ थपेर १२, आदिवासी जनजातीतर्फ ८ मा ९ थपेर १७, खस आर्यतर्फ ७ मा ८ थपेर १५ र मधेशीतर्फ ५ मा ६ थपेर ११ जना केन्द्रीय सदस्य पुर्याउने प्रस्ताव गरिएको छ ।
थारू समुदायबाट १ मा ४ थपेर ५, मुस्लिम समुदायबाट १ मा २ थपेर ३, र पिछडिएको क्षेत्रबाट १ मा १ थपेर २ जना केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरिएको छ । अल्पसङ्ख्यक र अपाङ्गता भएका क्षेत्रबाट एक–एक जना गरी २ जनाको प्रतिनिधित्व सुनिश्चित गरिने छ भने श्रमिकतर्फ १ मा २ थपेर ३ र पेसागत क्षेत्रबाट २ मा ५ थपेर ७ जना केन्द्रीय सदस्य पुर्याउने प्रस्ताव छ ।
यसपटकको विधान संशोधनको सबैभन्दा नयाँ र महत्त्वपूर्ण पक्षका रूपमा प्रजातान्त्रिक सेनानी, सहिद परिवार र द्वन्द्वपीडित क्षेत्रबाट समान रूपमा १–१ जना गरी कुल ३ जना नयाँ केन्द्रीय सदस्य थप गरिएको छ, जुन कांग्रेसको इतिहासमा पहिलो पटक हो । आइतबार खुलामञ्चमा उद्घाटन भएको १५औँ महाधिवेशनले यी सांगठनिक र विधानगत प्रस्तावहरूमाथि आजदेखि हुने बन्दसत्रमा गहिरो छलफल गर्नेछ । बैठकले सभापति गगन थापाले बन्द सत्रमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
