२०८३ असोज १८ , आइतबार 4, October 2026, Sunday

चीनसँगका तीन वटै नाका बन्द, दैनिक गुम्दैछ करोडौँ राजस्व

उत्तरी छिमेकी चीनसँगका तीनवटै प्रमुख व्यापारिक नाका बन्द हुँदा सरकारको दैनिक करोडौँ राजस्व घुम्दै गएको छ । तातोपानी, रसुवा र कोरला नाका बन्द हुँदा राजस्व संकलनमा ठूलो धक्का पुगेको हो । दैनिक करोडौँ राजस्व घुम्दै जाँदा सरकारको वार्षिक राजस्वको लक्ष्यमा समेत असर पर्ने देखिएको छ । साउन १ गतेदेखि तातोपानी नाका बन्द छ ।

गत भदौ १० विनाशकारी भोटेकोशी बाढीले सडक, बन्दरगाह, पुललगायत संरचना क्षतिग्रस्त बनाएपछि रसुवा नाका पनि अनिश्चितकालका लागि बन्द भएको छ । तातोपानी र रसुवा नाकाको विकल्पका रूपमा प्रयोग हुँदै आएको कोरोला नाकासमेत पछिल्लो बाढीपहिरोका कारण बन्द भएको भन्सार विभागले जनाएको छ ।

अन्तर्राष्ट्रिय व्यापार हुने उत्तरतर्फका सबै नाका बन्द भएपछि स्थलमार्गबाट हुने चीनसँगको आयात–निर्यात प्रभावित भएको छ । यी तीन वटै नाका बन्द हुँदा चीनतर्फका नाकाबाट संकलित राजस्व समेत घुमेको छ । दैनिक चीनतर्फका नाकाबाट संकलीत करोडौं राजस्व घुम्दै जान थालेपछि सरकारको वार्षिक राजस्व संकलनमा समेत धक्का पुग्ने देखिन्छ ।

भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले वार्षिक राजस्व लक्ष्यको चीनतर्फका नाकाबाट वार्षिक ५० अर्ब रुपैयाँ जति राजस्व सकंलन हुने गरेको बताए । वार्षिक कुल राजस्वको १२ देखि १५ प्रतिशतसम्म चीनतर्फको हिसा पर्ने गरेको उनले बताए । चीनतर्फका तीववटै नाका बन्द भएपनि राजस्वमा भने त्यस्तो असर नदेखिएको बताउँदै सूचना अधिकारी बर्तौलाले अहिलेसम्म हेर्दा गत वर्षको तुलनामा १५ प्रतिशत राजस्वमा वृद्धि नै देखिएको बताए ।

उनले भने, ‘असर त परिहाल्छ नि! ल्याण्ड कस्टमबाट आउनुपर्ने, उता सीबाट आउँदा ४५–५० दिन ६० दिन कुर्नुपर्यो । यहाँ अगाडि नै रियलाइज हुन्थ्यो । मान्छे व्यापारीले व्यापारिक दृष्टिले आर्थिक रूपबाट नि त असर त यसै पर्छ नि ! ४५ दिन अगाडि आएर चलायमान हुन्थ्यो । राजस्व ४५ दिन अगाडि आउँथ्यो । अब ४५ दिन पछाडि आउँछ आए । असर त यसै हुन्छ नि !’

चीनतर्फका नाकाबाट लक्ष्य अनुसार राजस्व संकलन भएन

गत आर्थिक वर्ष २०८२–०८३ मा चीनतर्फका तीन वटै नाकाबाट लक्ष्य अनुसार राजस्व संकलन हुन सकेको छैन । तीन वटा नाकाको वार्षिक राजस्वको लक्ष्य मध्ये ७६ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनि ३५ अर्ब २३ करोड राजस्व संकलन भएको थियो । यी तीन नाकाबाट वार्षिक राजस्व लक्ष्यको १३ प्रतिशत मात्रै संकलन भएको भन्सार विभागले जनाएको छ ।

गत आर्थिक वर्ष तातोपानी नाकाको वार्षिक राजस्व संकलनको लक्ष्य २४ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा लक्ष्यको आधा मात्रै राजस्व संकलन भएको छ । वार्षिक लक्ष्यको १४ अर्ब ५३ करोड राजस्व संकलन भएको हो । यस्तै, रसुवा नाकाको वार्षिक राजस्व लक्ष्य ४० अर्ब १६ करोड रहेकोमा १३ अर्ब ७५ करोड मात्रै संकलन भएको छ भने, कोरला नाकाको वार्षिक लक्ष्य १२ अर्ब एक करोड रहेकोमा ६ अर्ब ९५ करोड रुपैयाँ संकलन भएको भन्सार विभागले जनाएको छ ।

सरकारले चालू आर्थिक वर्ष २०८३–०८४ मा चीनतर्फका तीन वटा नाकाबाट वार्षिक ५९ अर्ब ७५ करोड राजस्व संकलनको लक्ष्य राखेको थियो । तर, चालू आवको दुई महिना नबिदै बाढी पहिरो लगायत विभिन्न कारण गर्दा अहिले तीनवटै नाका बन्द अवस्थामा रहेका छन् । सरकारको चालू आवमा वार्षिक राजस्व संकलनको लक्ष्य १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार