२०८३ असोज १३ , मंगलबार 29, September 2026, Tuesday

‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

पाँचथरको सुदूर उत्तरी याङवरक गाउँपालिका–१ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ । घुर्यानसम्मै अलैँची लगाएका उनले पछिल्ला वर्षमा धान र मकैखेती गर्न छाडेका छन् । सुकबहादुरका छिमेकी धनमाया बेघाको करेसाबारीमा पनि अलैँचीखेती छ । उनले आफ्नो बारीको अधिकांश ठाउँमा अलैँची लगाएकी छन् ।

सोही वडाको बिरुवाका बालनन्द बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ । बजारमा राम्रो मूल्य पाउन थालेपछि दुर्गम ग्रामीण क्षेत्रका किसानले अलैँचीलाई मुख्य बालीका रूपमा विस्तार गरिरहेका छन् । धान, मकै र कोदो फल्ने खेतबारी मासेर अलैँचीखेती विस्तार गरेका सुकबहादुर अलैँचीले परिवार पाल्न सहज भएको बताउँछन् ।

‘हामीलाई पाल्ने र बचाउने नै यही हो । हामीले नगद पाउने बाटो अलैँची मात्रै हो,’ उनले भने, ‘अलैँची फलाए मात्रै साहुले पनि पत्याउँछन् । यो खेती गर्नेले जे मागे पनि दिन्छन् ।’ अलैँची उत्पादन गर्ने किसानले स्थानीय ग्रामीण बजारबाट वर्षभरि सामग्री खरिद गर्दा उधारोसमेत पाउने गरेको उनको भनाइ छ । अलैँचीबाट जीविकोपार्जन सहज भएपछि किसानले यसलाई प्राथमिकतामा राखेका छन् ।

सुकबहादुरका अनुसार अलैँची किसानको इज्जतसँग पनि जोडिएको छ । ‘हाम्रो इज्जत राख्ने अलैँची भयो । रच्छ्यान, घुर्यान, धानखेती हुने सबै ठाउँमा अलैँची लगाएका छौँ,’ उनले भने । किसान अलैँचीखेतीतर्फ आकर्षित हुनुको मुख्य कारण यसको राम्रो मूल्य पनि हो । गत वर्षदेखि अलैँची प्रतिमन (४० किलोग्राम) ८० हजार रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ ।

‘प्रतिमन ८० हजार रुपैयाँसम्म पाइयो भने त राम्रो हो । त्यसो हुँदा प्रतिकिलो दुई हजार रुपैयाँ बराबर पर्न जान्छ । त्यति रकम कुनै पनि अन्नबालीबाट प्राप्त हुँदैन,’ सुकबहादुरले भने, ‘अलैँचीले राम्रो भाउ पाए हामीलाई फाइदा नै हुन्छ ।’ धनमाया बेघाले पनि खेतबारी मासेर अलैँचीखेती विस्तार गरेकी छन् । ‘अलैँचीको भाउ पनि राम्रै छ । हातमुख जोड्ने बाटो नै यही भएको छ,’ उनले भनिन् । तर, यस वर्षको अविरल वर्षाले उनको अलैँचीखेतीमा ठूलो क्षति पुर्याएको छ ।

गत जेठ ८ गते पहिरो झरेर खोलाखोल्सीमा रहेको उनको मुख्य अलैँची बगान बगाएको थियो । ‘अहिलेसम्म यति ठूलो क्षति कहिल्यै भएको थिएन,’ धनमायाले भनिन्, ‘खेतबारी मासेर लगाइएको अलैँची चाहिँ बाँकी रह्यो । त्यसैबाट अलिकति आम्दानी गर्न सकिएला कि ।’ सोही वडाका पूर्णबहादुर बेघाका अनुसार धान, मकै र कोदोखेती गर्दा लागतसमेत नउठ्ने भएकाले किसान अलैँचीतर्फ आकर्षित भएका हुन् ।

चाम्लिङडाँडाका रामकुमार राईको पनि विसं २०८० असार र गत जेठमा पहिरो झरेर झन्डै ३० मन अलैँची फल्ने बारी बगाएको छ । अलैँची उत्पादन रोकिएपछि आफ्नो आयस्रोतको अन्य बाटो नरहेको उनी बताउँछन् । ‘यहाँका बासिन्दा अलैँचीकै कारण गाउँमा अडिएका हौँ । अन्यथा खान पनि नपुग्ने भएर सबै हिँडिसकिन्थ्यो होला,’ राईले भने, ‘हाम्रो दैनिक जीवन नै अलैँचीमा आधारित भएको छ ।’

उनका अनुसार याङवरक–१ मात्रै होइन, पाँचथरका ४० भन्दा बढी वडामा अलैँची उत्पादन हुँदै आएको छ । कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार आर्थिक वर्ष २०८२–०८३ मा जिल्लामा कुल तीन हजार ३२६ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिएको थियो । सो अवधिमा एक हजार ३९६.९२ मेट्रिक टन अलैँची उत्पादन भएको केन्द्रका कृषि प्रसार अधिकृत प्रदीप नेपालीले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मंगलबार