नेपालीहरूको महान् चाड दशैं तिहार नजिकिँदै गर्दा पनि बजारमा भने कपडाको व्यापार व्यवसायमा चहलपहलसँगै माग बढ्न सकेको छैन् । विगतका वर्षहरूमा जस्तो यो वर्ष नेपालको कपडा तथा सिलाई बजारमा व्यापारिक चहलपहललगायत माग देखिएको छैन । विगतका दिनमा नेपालीको दशैं नजिकिँदै गर्दा बजारको रौनक छट्टै हुन्थ्यो ।
उपत्यकामा बसोबास गर्ने सर्वसाधारण र व्यवसायीको दशैं नजिकिँदै गर्दा पसल पसललगायत चोक चोकमा मानिसको भीड निकै हुन्थ्यो । तर, यो वर्ष बाढी पहिरोलगायत विभिन्न घटनाक्रमले गर्दा सर्वसाधारणको क्रयशक्ति घट्नुका साथै बजारमा खासै चाडपर्वको मुखमा पनि व्यवसाय सुस्त बनेको व्यवसायीहरूले बताएका छन् ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंका अध्यक्ष उद्धवबहादुर थापा मगरका अनुसार अघिल्ला वर्षहरूमा दशैँ–तिहारको समयमा कपडा किन्ने र सिलाउनेको ठुलो भीड हुने गरे तापनि यस वर्ष भने माग निकै घटेको छ । विशेषगरी चाडपर्व र औपचारिक कार्यक्रमहरूका लागि प्रयोग हुने सटिङ र सुटिङका कपडाहरू भारतबाट आयात हुने गर्दछन् ।
तर, हाल बजारमा त्यस्ता कपडाको उल्लेख्य आवश्यकता वा चाप देखिएको छैन । थानका बढी जस्तो कपडाहरू ९० प्रतिशत जति भारतबाट आयात हुने गरेको छ । रेडिमेड अर्थात् सिलसिलाई कपडाहरू धेरै जस्तो चाइनाबाट आयात हुँदै आइरहेको छ । बजारमा माग कम भए तापनि कपडा र सामग्रीको अभाव भने छैन ।
चीनबाट आयात हुने रेडीमेड कपडाहरू बजारमा उपलब्ध भइरहेकाले हालसम्म आपूर्तिमा कुनै समस्या वा अप्ठ्यारो महसुस नभएको अध्यक्ष मगरले बताए । विगतका वर्षहरूको तुलनामा यसपालि समग्र व्यावसायिक गतिविधि सुस्त रहनुले साना तथा मझौला कपडा व्यवसायीहरू चिन्तित बनेका छन् ।
नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले चाडपर्वलाई लक्षित गरी पोशाक तथा कपडाको आपूर्ति व्यवस्थापनमा ठुलो समस्या नरहेको बताए । हालै गएको बाढी पहिरोका कारण केही कच्चा पदार्थ र तयारी सामानमा क्षति पुगेको भए पनि वैकल्पिक उपायहरू अपनाएर बजार व्यवस्थापन भइरहेको उनको भनाइ छ ।
उत्तरी नाका रसुवागढीमा पहिरोका कारण समस्या देखिएपछि वीरगन्ज, विराटनगर र भैरहवाजस्ता वैकल्पिक भन्सार नाकाहरू प्रयोग गरेर चीन तथा भारतबाट सामान भित्र्याउने काम भइरहेको अध्यक्ष पाण्डे बताउँछन् । उपत्यका जोड्न सडक मार्ग सुचारु भएसँगै भारतबाट हुने आयात सहज बनेको छ । साथै, चीनमा उत्पादन लागत बढेकाले अहिले धेरैजसो व्यवसायीहरूले कच्चा पदार्थ स्वदेशमै ल्याएर उत्पादन गर्ने क्रम बढाएका छन् ।
बाढीका कारण निर्यात तथा आन्तरिक बजारका लागि ल्याइएका केही कच्चा पदार्थमा क्षति पुगेकाले ग्राहकहरूसँग समन्वय गरी सामान डेलिभरीको समय तालिका पुनः तालिकाबद्ध गरिएको संघले जनाएको छ । यस वर्ष दशैँ अलि ढिलो परेकाले पनि व्यवसायीहरूलाई बजारको तयारी र आपूर्ति व्यवस्थापन मिलाउन केही सहज भएको छ ।
समग्रमा, प्राकृतिक विपत्ति र नाकामा देखिएका केही प्राविधिक कठिनाइका बाबजुद कपडा तथा पोशाकको आपूर्ति प्रणाली सुचारु नै रहेको छ । तर, आपूर्ति सहज भए पनि बजारमा ग्राहकको चहलपहल र खरिद क्षमतामा आएको कमीका कारण चाडपर्वको व्यापार सोचेजस्तो उत्साहजनक हुन सकेको छैन । आगामी दिनमा बजारमा केही चहलपहल बढ्नेमा व्यवसायीहरू आशावादी रहेका छन् ।
