नेपालगन्ज विमानस्थलबाट १३ जना यात्रु लिएर आएको सीता एयरको जहाज डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको टायर फुत्किएको छ । आज बिहान ८ बजेर २५ मिनेटको समयमा नाइ–एन–एजेएच कलसाइन भएको जहाज अवतरण गर्ने क्रममा टायर फुत्किएको हो ।
चक्का फुत्किए पनि विमानमा सवार सबै जना सकुशल रहेको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । विमानमा समेत अन्य कुनै क्षति नभएको बताइएको छ । चक्का फुत्किएपछि विमान धावनमार्गमै रहेको र घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । जहाजमा सात जना विदेशी नागरिकसहित १३ जना यात्रु सवार थिए ।
टायर फुत्किए पनि अन्य कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेको विमानस्थल सुरक्षा पोस्टले जनाएको छ । जहाज धावनमार्गमै रोकिएपछि अन्य जहाज अवतरण गर्न सकेका छैनन् भने अवतरणका लागि आएको नेपाली सेनाको जहाजसमेत फर्किएको छ । आजै हेलिकप्टरबाट प्राविधिक झिकाएर मर्मतको तयारी भइरहेको बताइएको छ । यससँगै जहाज ठूलो दुर्घटनाबाट जोगिएको बताइएको छ ।
