काठमाडौँको त्रिपुरेश्वरमा सोमबार दिउँसो आफैँले चलाएको बसभित्र आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि चालक २५ वर्षीय दावा लामाले ट्राफिक प्रहरीसँग विवाद गरेको तथ्य बाहिरिएको छ । सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले आफूमाथि बिनागल्ती दुर्व्यवहार गरेको र हातपात गरेको भन्दै आक्रोशित बनेका लामाले त्यसको केही समयपछि नै यात्रुविहीन बसभित्र आफैँलाई थुनेर आगो लगाएका हुन् ।
सामानिजक सञ्जालमा सार्वजनिक एक भिडियोमा चालक दावा लामा ट्राफिक प्रहरीमाथि निकै आक्रोशित मुद्रामा प्रस्तुत भएको देखिन्छ । भिडियोमा उनले आक्रोश पोख्दै भनेका छन्, ‘मलाई बिना गल्ती किन हान्नुपर्यो ? मेरो गल्ती बिना उहाँले किन यस्तो गर्नुभयो ? मैले यति धेरै सहयोग गर्दागर्दै मलाई चाबी झिकेर हान्नुभयो ।’ उक्त भिडियोमा चालक लामाले आफू झापाको भएको बताउँदै ट्राफिक प्रहरीको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।
उनले भनेका छन्, ‘हामी झापाको मान्छे हो सर,…. यहाँ म छोड्दिनँ….जे गर्न सक्छस् गर् रे पुलिस प्रशासनले ।’ त्यतिबेला वरिपरि रहेका सर्वसाधारण तथा अन्य व्यक्तिहरूले उनलाई सम्झाउँदै गाडी साइड लगाउन आग्रह गरे पनि उनी अत्यन्तै उत्तेजित अवस्थामा देखिएका थिए । त्यस विवादको केही समयलगत्तै लामाले त्रिपुरेश्वर सडक खण्डमा बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसभित्र आफूलाई बन्द गरी आगो लगाएका थिए । बसमा कुनै पनि यात्रु नभएका बेला चालकले आगो लगाएपछि गाडी ह्वारह्वार्ती बलेको थियो ।
तत्कालै पुगेको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो भने गाडीभित्र जलेर गम्भीर घाइते भएका लामाको उद्धार गरिएको थियो । उद्धारपछि उनलाई तत्काल उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइएको थियो । कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख एवं सिनियर कन्सल्टेन्ट प्लास्टिक सर्जन डा.विशाल कार्कीका अनुसार चालक लामाको शरीरको ९० प्रतिशत भाग जलेको छ र उनको अवस्था अत्यन्तै गम्भीर तथा चिन्ताजनक रहेको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख, एसएसपी दिलीप घिमिरेले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताए ।
