नेकपा एमालेले गठन गरेको निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलमा विभाजन देखिएको छ । कार्यदलका बहुमत सदस्यसहितका सदस्यसचिव समेत रहेका महासचिव शंकर पोखरेलले तयार पारेको भन्दा भिन्न ३९ पृष्ठको प्रतिवेदन संयोजक रामबहादुर थापा बादलले लेखेपछि कार्यदलमा विभाजन देखिएको हो ।
पोखरेलको मसौदामा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने, विशेष महाधिवेशन गर्नुपर्ने लगायतका सुझाव दिइएको थियो । तर, त्यसप्रति रुष्ट ओलीले कार्यदल संयोजक बादललाई छुट्टै प्रतिवेदन लेख्न लगाएका थिए । सात प्रदेशसहितबाट प्राप्त सुझावलाई समेटेर यसअघि महासचिव पोखरेलले एक प्रतिवेदन पेश गरेका थिए ।
तर, ओलीले आफू अनुकूलको प्रतिवेदन नआएपछि पुनः त्यसलाई सच्याउन भन्दै बादललाई नेता प्रदीप ज्ञवालीले सहयोग गर्ने गरी जिम्मा दिएका थिए । आज बोलाइएको कार्यदल बैठकमा दुवै प्रतिवेदन पेश हुने कार्यदलका एक सदस्यले बताए । यो विवादसँगै एमालेभित्रको ओली समुहको औपचारिक विभाजन भएको ती नेताले बताए ।
एमालेमा दुईलाइन संघर्षको बेला ओली पक्ष भनेर चिनिएका पुराना नेताहरु विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव पोखरेल, सचिवद्वय पद्मा अर्याल छविलाल विश्वकर्मा, बाहिरिएका छन् । फागुन २१ को आम निर्वाचनमा एमाले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी कुल २५ सिटमा खुम्चिएर तेस्रो दल बनेपछि पराजयको समीक्षा गर्न जेठ १० गते बसेको केन्द्रीय सचिवालय बैठकले १५ सदस्यीय कार्यदल गठन गरेको थियो ।
वरिष्ठ उपाध्यक्ष बादलको संयोजकत्वमा गठित कार्यदलमा उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवद्वय पद्मा अर्याल र भानुभक्त ढकाल तथा आठ प्रदेशका इन्चार्जहरू छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, डा.राजन भट्टराई, महेश बस्नेत, लीलानाथ श्रेष्ठ र दामोदर भण्डारी सदस्य थिए ।
कार्यदलले जेठ ३० देखि १३ वटा समूहबाट सुझाव सङ्कलन गरेपछि संयोजक बादलले मसौदा प्रतिवेदन लेख्ने जिम्मेवारी सदस्यसचिव पोखरेललाई दिएका थिए । महासचिव पोखरेलले ६५ पृष्ठको मसौदा प्रतिवेदन तयार पारी अध्यक्ष ओली र संयोजक बादललाई बुझाएका थिए । प्रतिवेदनमा उनले २०६४ को निर्वाचन पराजयपछि तत्कालीन महासचिव माधवकुमार नेपालले राजीनामा दिएको दृष्टान्त दिँदै अध्यक्ष ओलीले पनि नैतिक जिम्मेवारी लिएर पद त्याग्नुपर्ने र असोज २०८३ भित्र विशेष महाधिवेशन बोलाएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
साथै विधानबाट हटाइएको ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा पुनः कायम गर्नुपर्ने र वरिष्ठ नेताहरूलाई मार्गदर्शक भूमिकामा मात्र सीमित गर्नुपर्ने पोखरेलको मसौदामा उल्लेख थियो । चुनावी हारको मुख्य दोष अध्यक्ष ओलीको अति–केन्द्रीकृत कार्यशैली र आन्तरिक असफलता रहेको भन्दै पोखरेलले तल्ला तहबाट आएको सुझाव लेखेका थिए। त्यो मसौदा पढेर अध्यक्ष ओली क्रुद्ध भएका थिए ।
११ औँ महाधिवेशनको जनादेशविपरीत आफूलाई बलपूर्वक विस्थापित गर्ने चालबाजी भन्दै उनले संयोजक बादललाई पोखरेलको मसौदा खारेज गरी अर्कै प्रतिवेदन लेख्न निर्देशन दिए । अध्यक्षकै चाहना अनुसार संयोजक बादलले पोखरेलको ६५ पृष्ठको मसौदामाथि कैँची चलाउँदै ३९ पृष्ठको परिमार्जित प्रतिवेदन तयार पारेका हुन् । अध्यक्ष ओलीको चाहना अनुसार संयोजक बादलले पोखरेलका प्रस्तावहरू हटाई पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरणका लागि नेकपा (एमाले)को साझा सङ्कल्प शीर्षकमा ३९ पृष्ठको छुट्टै प्रतिवेदन तयार पारेका हुन् ।
उनले महासचिव पोखरेलका ओली विस्थापन, राजीनामा र नैतिक जिम्मेवारीका सबै प्रस्तावहरू हटाएका छन् । ११ औँ महाधिवेशनबाट ७५ प्रतिशत मतसहित निर्वाचित अध्यक्षलाई हटाउने प्रयास असान्दर्भिक रहेको भन्दै प्रतिवेदनले नेतृत्व परिवर्तनको बहसको च्याप्टर क्लोज भएको घोषणा गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अभ्यास देखाउँदै उमेर हद र कार्यकाल सीमा फर्काउने प्रस्ताव तथा असोज २०८३ मा विशेष महाधिवेशन बोलाउने माग रद्द गरिएको छ ।
चुनावी हारको दोष ओलीमाथि नथोपरी मातहतका कमिटीको गलत रिपोर्टिङ, भदौ २३–२४ को कलर रिभोल्युसन र भूराजनीतिक षड्यन्त्रलाई कारक मान्नुपर्ने उल्लेख छ । यसका साथै बादलले प्रतिवेदनमा अध्यक्ष ओली हिरासतमा छँदै चैत २० गते नयाँ प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई दिएको तर अध्यक्षको रिहाइको अपिल नगरेको आरोप महासचिव पोखरेलमाथि लगाएका छन् । अध्यक्ष ओलीको निर्देशनमा बादलले लेखेको ३९ पृष्ठको प्रतिवेदन र महासचिव पोखरेलले कार्यदलका तर्फबाट तयार पारेको ६५ पृष्ठको मसौदाले एमालेभित्रको आन्तरिक विवाद बढ्ने देखिन्छ। नेताहरूका अनुसार शुक्रबारको बैठकमा पोखरेलले आफ्नै प्रतिवेदन पेस गर्ने तयारी गरेका छन् ।
