बाँकेका विभिन्न बजारमा पछिल्लो समय फलफूलको माग बढ्दै गएको छ । बजारमा फलफूलको माग बढेसँगै यहाँका किसान पनि यस खेतीतर्फ थप आकर्षित र उत्साहित हुन थालेका छन् । राप्तीसोनारी गाउँपालिका–२, कचनापुरका किसान शान्तराज गौतमले प्राकृतिक रूपमा व्यावसायिक मेवा खेती गर्दै आएका छन् ।
अन्य खेतीमा सिँचाइको अभाव, रासायनिक मल तथा गुणस्तरीय बीउको समस्या, कम उत्पादन तथा समय र लागत बढी लाग्ने भएकाले फलफूल खेती राम्रो विकल्प भएको उनको भनाइ छ । उनले आफैँ बेर्ना उत्पादन गरी रोपेका ३६० वटा मेवाका बिरुवामा अहिले लटरम्म फल लागेको छ । एक बोटबाट ५० केजीका दरले मेवा उत्पादन गर्ने लक्ष्य रहेको गौतमले बताए ।
सबै खर्च कटाएर करिब चार लाख रुपैयाँसम्म आम्दानी हुने उनको अनुमान छ । ‘बजारमा पहिलाको तुलनामा पछिल्लो समय सबै प्रकारका फलफूलको माग बढिरहेको छ । माग बढेपछि म मात्रै होइन, फलफूल खेती गर्ने सम्पूर्ण किसान उत्साहित भएका छौँ,’ किसान गौतमले भने, ‘बजारमा माग बढ्दा यस खेतीतर्फ आकर्षण झनै बढेको छ ।”
बाँकेका किसानले विशेषगरी आँप, केरा, मेवा, ड्रागन फ्रुट, कागती, अनार, भुइँकटहर र स्ट्रबेरी लगायत फलफूलको खेती विस्तार गर्न थालेका छन् । केही किसानले आफ्नै खेतबारीमा फलफूलका बिरुवा लगाएर उत्पादन सुरु गरेका छन् भने केहीले व्यावसायिक रूपमा बगैँचा विस्तार गरिरहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–१९, कण्ठीपुरका सुनिल यादवले १५ कट्ठा जमिनमा पाँच वर्षदेखि व्यावसायिक अम्बा खेती गर्दै आएका छन् । त्यस्तै, बैजनाथ गाउँपालिका–१ का सर्पराज बस्नेतले परम्परागत खेतीबाट अपेक्षित आम्दानी हुन नसकेपछि विगत दुई वर्षदेखि व्यावसायिक रूपमा स्ट्रबेरी खेती गर्दै आएका छन् ।
करिब साढे छ लाख रुपैयाँ लगानी गरी नौ हजार बिरुवा रोपिएको उनको बारीबाट पहिलो वर्षमै करिब १५ क्विन्टल स्ट्रबेरी उत्पादन भएको उनले जानकारी दिए । बाँकेको कोहलपुर नगरपालिका–१४ का हेमन्त थापाले १५ कट्ठा जमिनमा व्यावसायिक स्ट्रबेरी खेती गर्नुभएको छ भने खजुरा गाउँपालिका–२ की सिर्जना विष्टले एक बिघा जग्गामा व्यावसायिक रूपमा अम्बा खेती गर्दै आएकी छन्
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार पछिल्लो समय बाँकेमा किसान फलफूल खेतीतर्फ आकर्षित हुँदै गएका छन् । अहिले जिल्लामा १२–१३ प्रकारका फलफूल खेती हुने गरेको उनले जानकारी दिइन् । सूचना अधिकारी शर्माका अनुसार बाँकेमा एक हजार ३०० हेक्टर क्षेत्रफलमा फलफूल खेती हुँदै आएको छ ।
जिल्लामा सबैभन्दा बढी व्यावसायिक रूपमा आँप खेती हुने गरेको उनले बताइन् । बाँकेमा मात्रै एक हजार १५ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको र त्यसबाट ९.९७ मेट्रिक टन आँप उत्पादन हुने गरेको उनको भनाइ छ । उनका अनुसार जिल्लामा ५० हेक्टरमा केरा, ४१ हेक्टरमा कागती, ३१ हेक्टरमा अम्बा र नौ हेक्टर क्षेत्रफलमा मेवा खेती हुने गरेको छ ।
कागती तथा निबुवाबाट ८.१५ मेट्रिक टन, अम्बाबाट ८.८७ मेट्रिक टन र मेवाबाट १३.८५ मेट्रिक टन उत्पादन हुने गरेको उनले जानकारी दिइन् । फलफूल खेतीबाट नियमित आम्दानीको सम्भावना देखिएपछि युवा किसानसमेत यसतर्फ आकर्षित भएको वरिष्ठ कृषि प्रसार अधिकृत शर्माले बताइन् ।
बाँकेको हावापानी र माटो विभिन्न प्रकारका फलफूल खेतीका लागि उपयुक्त भएकाले व्यावसायिक उत्पादन विस्तार गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ । उनले गुणस्तरीय बिरुवा, आधुनिक प्रविधि, सिँचाइ, रोग–कीरा नियन्त्रण तथा बजार व्यवस्थापनमा किसानलाई आवश्यक सहयोग गर्नुपर्ने बताइन् ।
‘बाँकेमा फलफूल खेतीको क्षेत्र विस्तार हुँदै गएमा जिल्लाको कृषि उत्पादनमा विविधता आउनुका साथै स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसरसमेत बढ्ने देखिन्छ,’ उनले भनिन्, ‘खेतीका लागि सुझाव लिन कार्यालयमा आउने किसानलाई हामीले आवश्यक सुझाव दिँदै आएका छौँ ।’ कृषि ज्ञान केन्द्रले कम्तीमा १५ कट्ठा क्षेत्रफलमा फलफूल खेती गर्ने किसानका लागि पुराना बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गर्दै आएको सूचना अधिकारी शर्माले बताइन् ।
