२०८३ भदौ २२ , सोमबार 7, September 2026, Monday
विचार

हामीले यति असभ्य पुस्ता कसरी जन्मायौं ?

एउटी श्रीमतीले आफ्नो श्रीमानको खोजी गर्दा ‘तँलाई सुत्नका लागि पोइ चाहियो, पोइल जा’ भन्ने छोरा कसरी जन्मायौँ ? लास हेर्न परिवारले पाउन् भन्दा ‘एक-एकवटा लास पठाइदेऊ’ भन्ने छोरी कसरी जन्मायौँ ?
प्रा.डा.युवराज संग्रौला
प्रा.डा.युवराज संग्रौला । काठमाडौं

आज जस्तोसुकै भए पनि हामीसँग एउटा देश छ । यो देशले हामीलाई संसारभरि पहिचान दिएको छ । यसको इतिहास लामो छ र यो इतिहासको निर्माणमा धेरै बहादुरहरूको वीरताको कथा छ । तर आज हामीले दुःख पनि उत्तिकै पाएका छौँ । यो दुःखको कथा लेख्नमा पनि धेरै नालायकहरूको भूमिका छ । शासनमा नालायकहरूकै वर्चस्व रहँदै आएको छ ।

१. नागरिकहरूको जीवनले सुख र शान्ति खोज्छ । हामीले इतिहासमा हाम्रो जमिन साम्राज्यवादीहरूले लुटेको बिर्सेका छैनौँ । तर पनि थोरै जमिनमै सही, हामीले विदेशीको गुलामी भोग्नुपरेन । हामी भारतलाई हेरौँ अनि चीनलाई हेरौँ । हाम्रो जमिन जोडिएका यी मुलुकहरूले आफ्नो स्वतन्त्रताका लागि कति नागरिकको ज्यान गुमाए ? चीनमा जापानीहरूको अत्याचार र भारतमा ब्रिटिसको अत्याचारबाट कति नागरिकले ज्यान गुमाए ? हामीले त्यही तहको दुःख त भोग्नुपरेन । सायद इतिहासमा त्यही दुःख भोग्नु नपरेकोले पो हो कि, हामीलाई देशको पीडा महसुस हुन छाडेको जस्तो छ ।

हामी देशलाई, फोहोर बोल्ने मानिसहरूको देश, अश्लील कुरा गर्ने मानिसहरूको देश, अरूको पीडा नबुझ्ने मात्र होइन अरूलाई पीडा दिएर अरूकै पीडामा रमाउने मानिसहरूको देश, घृणा र आत्मदम्भ (नार्सिसिज्म)मा खुसी हुनेहरूको देश, मूर्खतालाई महानता देख्ने मानिसहरूको देश, भ्रष्ट र दुष्ट मानिसहरूको देश, एकता भत्किएको देश, विदेश पलायन हुनुलाई सफलता देख्नेहरूको देश, आफ्नो देश बिगारेर अरूको देश बनाउने मानिसहरूको देश र विदेशीको पैसा खाएर आफ्नै देशमा आगो लगाउने मानिसहरूको देश बनाइरहेका छौँ ।

२. इतिहासमा हाम्रा पनि वीरहरू थिए । हामीले ती वीर र इतिहास दुवै बिर्सिएका छौँ । हामीले के बिर्सिएका छौँ भने इतिहास बिर्सिएर वर्तमान बनाउन सकिन्न । वर्तमानलाई ध्वस्त पारेर भविष्य बनाउन सकिन्न । हामी दिनदिनै हाम्रो वर्तमानमाथि रछ्यान फ्याँकिरहेका छौँ । हामी आफूबाहेक सबै ‘हरामी’ छन् भन्ने आत्मदम्भका रोगी बनेका छौँ ।

हामी आफ्नो उन्नति होइन, अरूको बर्बादीका लागि सक्रिय छौँ । हामी जे होइनौँ त्यो बनेका छौँ; हामी जे हौँ, त्यो लुकाएका छौँ । हामी अरूलाई डसेर रमाउँछौँ । किन हामी नेपाली समाजको अनुभवलाई धिक्कार्ने, पछाडि बसेर अगाडिको हाँगा काट्ने अनि लाजमर्नु किसिमले बाबु–दाजुलाई कालो दलेर आफू शुद्ध देखिने कसरत गर्ने बेइमान बन्दै छौँ ? हाम्रो हृदय किन मरेको होला ?

३. संसारले के देखाएको छ भने हरेक मानिसको आफ्नैपन हुन्छ । मानिस माटोसँग जोडिएको हुन्छ । मानिस माटोसँग जोडिएर आफ्नो मौलिक गुण (संस्कृति) बनाउँछ । आफ्नो सभ्यता बनाउँछ र सभ्यताले इतिहासको कदर गर्छ । तर हामी त इतिहासकै हत्या गर्न लागिपरेका छौँ ।

४. एउटी श्रीमतीले आफ्नो श्रीमान्को खोजी गर्दा ‘तँलाई सुत्नका लागि पोइ चाहियो, पोइल जा’ भन्ने छोरा कसरी जन्मायौँ ? लास हेर्न परिवारले पाउन् भन्दा ‘एक–एकवटा लास पठाइदेऊ’ भन्ने छोरी कसरी जन्मायौँ ? क्रान्तिका नाममा सोझो मास्टर मार्ने र सिंहदरबारमा आगो लगाउने बुद्धि कहाँबाट सिक्यौँ ?

५. सत्य के हो भने हामीले इतिहासलाई रछ्यानमा पुरिदियौँ । हामीले पहिचान सिकेनौँ, केवल दम्भ सिक्यौँ । यदि हामीले समाज चिनेको भए, इतिहास पढेको भए, हामी देशलाई चिन्थ्यौँ । हामी आफूमाथि गौरव गर्न सक्ने मानिस हुन्थ्यौँ । तर हामीले बाटो बिरायौँ । हामी भ्रम र दम्भको रोगले ग्रस्त भयौँ ।

अतः समस्या सामाजिक सञ्जालमा होइन, हाम्रो सोच र खोटो नियतमा छ । के हामी कसैका प्यादा नबन्न सक्दैनौँ ? के हामी मानव बन्न सक्दैनौँ ? के हामी मरेका मानिसका सिक्री चुँड्ने मति फ्याँक्न सक्दैनौँ ? के हामी बुद्धलाई मानेर हिंसाको वकालत गर्नु गलत हो भन्ने सिक्न सक्दैनौँ ? के हामी हिन्दु भनेर मानिसमाथि छुवाछूत नगर्न सक्दैनौँ ? सक्छौँ, अवश्य सक्छौँ । तर त्यसका लागि हामीले हाम्रो इतिहास र सभ्यता चिन्नुपर्छ, अनि मात्र सक्छौँ ।

अहिले हामी सभ्यताहीन मानिसहरूको जत्थामा रूपान्तरण भएका छौँ । त्यसैले घृणा, परपीड़न, अश्लीलता र धोका हाम्रो जीवनशैली बनेको छ । हामीले यो प्रवृत्ति फेर्नुपर्छ, तब मात्र शासन राम्रो हुन्छ, देश साँच्चिकै स्वतन्त्र हुन्छ । तब मात्र हामी आफूलाई ‘नेपाली’ भन्न लायक हुन्छौँ । आज त हामी गैरनेपाली जस्ता बनेका छौँ । (लेखकको फेसबुकबाट साभार)

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार