२०८३ भदौ २२ , सोमबार 7, September 2026, Monday
भोटेकोशी विपत्ति

बाढीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा

सबै विस्थापितलाई एउटै आवश्यकताका आधारमा हेरिँदा सुत्केरी, गर्भवती, अपांगता भएका लगायत मानिस प्रभावित हुन सक्ने चिन्ता मानवीय सहायता क्षेत्रमा काम गरिरहेकाहरूलाई छ ।

काखमा रहेको तीनमहिने बच्चा लगातार रोइरहेछ, सायद भोक र निद्रा नपुगेर होला । तर परियार थरकी आमालाई बच्चा कहाँ र कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले बढी सताइरहेछ । आफ्नो नाम गोप्य राख्ने सर्तमा उनले थर मात्र खुलाएकी हुन् । उनी त्रिशूलीमा बाढी पसेपछि घर छाडेर भागेकी थिइन् । घर बाढीले बगाएपछि अहिले दर्जनौं अपरिचित मानिससँग एउटै छानामुनि बस्दै आएकी छन् ।

उनले बच्चालाई स्तनपान गराउने ठाउँकै वरपर पुरुषहरू चुरोट खाइरहेका छन् । खाना कहिले पाइन्छ, पत्तो छैन । ठाउँ कोलाहलपूर्ण छ । ‘हामी सबै एउटै ठाउँमा छौं, त्यसैले निकै गाह्रो भइरहेको छ,’ उनी सुनाउँछिन्, ‘चुरोटको धूवाँ आउँछ, रक्सीको गन्ध आउँछ, बच्चा सुत्नै सक्दैन ।’ बाढीपछि दूध पनि कम आउन थालेकाले बच्चालाई पोषण पुग्न नसकेको उनलाई लागेको छ । उनले अहिले बच्चालाई फर्मुला दूध दिन थालेकी छन् ।

तर फर्मुलाले बच्चाको पेटमा समस्या पारेजस्तो देखिन्छ । दूध खाएपछि बच्चा झन् धेरै रुने गरेको उनले सुनाइन् । ‘सुरक्षित ठाउँ र बच्चालाई खोप लगाउने व्यवस्था पनि भए राम्रो हुन्थ्यो,’ उनी भन्छिन्, ‘हामीले समयमा र पर्याप्त खानासमेत पाएका छैनौं ।’ परियारको यो अवस्था एउटा परिवारको कथा मात्र होइन । भोटेकोशी–त्रिशूली करिडोरमा बाढीको पानी घट्दै गए पनि संकट नघटेको एउटा उदाहरण हो । सडक र पुल बगेका छन्, पहिरोले बाटो थुनेको छ ।

गाउँहरूबीचको सम्पर्क टुटेको छ । यस्तो अवस्थामा गर्भवती र सुत्केरीका लागि सामान्य स्वास्थ्य सेवासमेत कठिन बनेको छ । अरू विस्थापितका आवश्यकताभन्दा उनीहरूका आवश्यकता केही फरक हुन्छन् । बच्चालाई स्तनपान गराउन सुरक्षित र निजी ठाउँ, आमाका लागि पर्याप्त र समयमै खाना, शिशुका लागि उपयुक्त पोषण, अनि प्रसूतिको अवस्था जटिल भए तत्काल अस्पताल पुग्ने सहजता आवश्यक पर्छ ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित १५ स्थानीय तहमा करिब चार हजार ४३० गर्भवती महिला रहेको अनुमान गरेको छ । यी तीन जिल्ला १० भदौको विनाशकारी बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हुन् । यो संख्या घर–घर पुगेर गरिएको गणना भने होइन । करिब तीन लाख १० हजार प्रभावित जनसंख्यालाई आधार बनाएर मानवीय सहायता जुटाउन गरिएको प्रारम्भिक अनुमान हो ।

यही अनुमानअनुसार आगामी एक महिनामा करिब ४९२ शिशु जन्मिन सक्ने र करिब ७४ महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने यूएनएफपीएको आकलन छ । सबै विस्थापितलाई एउटै आवश्यकताका आधारमा हेरिँदा सुत्केरी, गर्भवती, अपांगता भएका लगायत मानिस प्रभावित हुन सक्ने चिन्ता मानवीय सहायता क्षेत्रमा काम गरिरहेकाहरूलाई छ । जस्तो, एउटा अस्थायी आश्रयस्थलमा बसेको पुरुष र नवजात शिशुलाई स्तनपान गराइरहेकी आमाको आवश्यकता फरक हुन्छ ।

तर राहतको सामान्य ढाँचामा उनीहरूलाई प्रायः एउटै समूहमा राखिन्छ । त्रिशूली करिडोरकै अर्को एउटा आश्रयस्थलमा ३३ वर्षीया शर्मिला श्रेष्ठ दुई साना बच्चासँग एउटा विद्यालयको कक्षाकोठाको भुइँमा रात बिताइरहेकी छन् । उनकी १४ महिनाकी छोरी बाढीका बेला छुटेकी थिइन् । दुई–तीन दिनपछि पहाडी बाटो हुँदै करिब ६ घण्टा हिँडेर उनले छोरीलाई फेरि आफूसँग ल्याइन् । उनीसँगै दाइ–भाउजूको १८ महिनाको छोरा पनि छ ।

दुवै बच्चाले अहिले वयस्कले खाने खाना नै खानुपरेको छ । उनीहरूका लागि छुट्टै वा उमेर अनुसारको खानाको प्रबन्ध छैन । ‘बच्चाका लागि छुट्टै खाना दिइएको छैन,’ श्रेष्ठ भन्छिन्, ‘सानो बच्चालाई पनि त्यही खाना हो ।’ उनको माग ठूलो छैन । उनलाई अहिले एउटा सुरक्षित र व्यवस्थित बस्ने ठाउँ चाहिएको छ । ‘राम्ररी बस्न मिल्ने उचित ठाउँ मात्र भए पनि हुन्थ्यो, त्यसले मनमा थोरै भए पनि शान्ति ल्याउँथ्यो,’ उनी भन्छिन् ।

समस्या खाना र बस्ने ठाउँमा मात्र सीमित छैन । बाढीपछि स्वास्थ्य संस्थासम्म पुग्ने बाटो पनि धेरै महिलाका लागि जोखिमपूर्ण बनेको छ । यस क्षेत्रको प्रमुख जिल्ला अस्पताल त्रिशूलीको प्रसूति विभागले गम्भीर संकटबीच सेवा उपलब्ध गराइरहेको छ । विभागकी प्रमुख वसन्ती पन्चका अनुसार बाढी आएयता अस्पतालमा नौ जना प्रसूति भइसकेका छन् । प्रसूतिसँगै अन्य जटिलता लिएर आउने महिलाको संख्या पनि बढेको छ ।

ज्वरो, गर्भमा रहेको बच्चाको चाल कम भएको र गर्भावस्थामा पिसाबको संक्रमण भएका महिला अहिले अस्पताल आइरहेका छन् । ‘बाढीका कारण हाम्रो सेवा प्रवाह निकै कठिन भएको छ,’ पन्च भन्छिन् । बिजुली नियमित छैन । शल्यक्रियाका लागि जेनेरेटर चलाउनुपर्छ । एकै पटक धेरै उपकरण स्टेरिलाइज (निर्जीवाणुकरण) गर्न सकिने अवस्था पनि छैन । सानो–सानो समूहमा उपकरण सफा र निर्जीवाणुकरण गर्नुपरेको छ ।

पछिल्ला दिनमा चार जना प्रसूति बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउनुपरेको छ । दुई जनालाई नेपाली सेनाको हेलिकोप्टर र दुई जनालाई एम्बुलेन्सबाट अन्यत्र पठाइएको थियो । तीमध्ये एक महिलालाई प्रसूतिपछि घाउमा गम्भीर संक्रमण भएको थियो । ‘पहिले सडकबाट दुई घण्टाको यात्रामा काठमाडौं पुगिन्थ्यो,’ उनले भनिन्, ‘अहिले पहिरोका कारण सडकबाट कति घण्टा लाग्छ भन्ने कसैलाई थाहा छैन ।’

अस्पतालसँग गम्भीर नवजात शिशुलाई उपचार गर्ने उन्नत सुविधा छैन । त्यसैले पहिले सामान्य मानिने प्रसूति अवस्था अहिले स्वास्थ्यकर्मीका लागि ठूलो तनाव बनेको छ । ‘गर्भावस्थामै महिलालाई स्वाभाविक रूपमा धेरै चिन्ता, तनाव र के होला भन्ने डर हुन्छ,’ पन्च भन्छिन्, ‘बाढीले गर्भवतीलाई थप ठूलो तनावमा पारेको छ ।’ महिला अधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने संस्था ओरेक नेपालकी कार्यकारी निर्देशक रेखा श्रेष्ठले आफूहरूको टोलीले भ्रमण गरेका आश्रयस्थलमा एउटै दृश्य दोहोरिइरहेको बताइन् ।

उनका अनुसार प्रायः आश्रयस्थलमा महिला, पुरुष, बालबालिका, बिरामी र स्वस्थ व्यक्ति सबै एउटै ठाउँमा छन् । चन्द्रावती माध्यमिक विद्यालयमा मात्रै एक हजारभन्दा बढी मानिस आश्रय लिएर बसेका छन् । तीमध्ये पाँच सयभन्दा बढी महिला छन् । यसमा गर्भवती र सुत्केरी आमाहरू पनि छन् । ‘सबैजना एउटै ठाउँमा छन्,’ श्रेष्ठले भनिन् । यही अवस्थालाई ध्यानमा राखेर ओरेक नेपालले प्रभावित क्षेत्रमा महिलामैत्री सुरक्षित स्थान बनाउन थालेको छ ।

त्यस्ता ठाउँमा महिला र किशोरीले आफ्ना समस्या गोप्य रूपमा राख्न सक्छन् । किनकि, भीडभाडबीच उनीहरूलाई आफ्ना समस्या राख्न कठिन हुन्छ । राहत वितरणमा भने अझै पनि ‘सबैलाई एउटै कुरा चाहिन्छ’ भन्ने सोच हाबी रहेको श्रेष्ठ बताउँछिन् । महिनावारी हुने किशोरीले पर्याप्त सेनिटरी प्याड पाएका छैनन् । ‘राहत वितरणमा महिलालाई एउटा मात्र प्याड दिएर त्यसलाई तीन–चार दिनसम्म प्रयोग गर्न भनिएको रहेछ,’ उनले भनिन् ।

यसैबीच, यौन हिंसा र मानव बेचबिखनको जोखिम पनि बढेको छ । स्थानीय तहमा पर्याप्त सहायता नपाएपछि धेरै परिवार काठमाडौंलगायतका ठाउँतर्फ जान थालेका छन् । परिवार र समुदाय छरिँदै जाँदा महिला तथा बालबालिका थप जोखिममा पर्न सक्ने अधिकारकर्मीहरूको चिन्ता छ । ‘गर्भवती महिला र सुत्केरी आमाहरूका विशेष आवश्यकता हुन्छन्,’ श्रेष्ठ भन्छिन्, ‘नुहाउन, लुगा सुकाउन र स्तनपान गराउन पनि निजी ठाउँ छैन । विपद्को समयमा गोपनीयता कुनै अतिरिक्त सुविधा होइन, यो आधारभूत आवश्यकता हो ।’

उनका अनुसार आश्रयस्थलमा सुरक्षित रहेका र जोखिममा परेका समूहलाई बेग्ला–बेग्लै पहिचान गर्न, महिला र उमेरका आधारमा तथ्यांक राख्न तथा आवश्यक पोषण र औषधि उनीहरूसम्म पु¥याउन जरुरी छ । ‘समूहभित्रको विविधतालाई हेर्नु अत्यन्त आवश्यक छ,’ उनी भन्छिन् । यूएनएफपीएले चार हजार ४३० को संख्या प्रारम्भिक अनुमान मात्रै भएको स्पष्ट पारेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र स्वास्थ्य क्लस्टरसँगको समन्वयमा यो संख्या थप परिमार्जन भइरहेको छ ।

करिब तीन लाख १० हजार जनसंख्यालाई आधार बनाएर गरिएको यो अनुमान घर–घर पुगेर गरिएको गणना होइन । बरु, कुल जनसंख्यामा महिला गर्भवती हुने सम्भावनालाई जनसांख्यिकीय अनुपातका आधारमा हिसाब गरेर निकालिएको अनुमान हो । ‘कुनै पनि जनसंख्यामा कुनै पनि समयमा कति महिला गर्भवती हुने सम्भावना रहन्छ भन्ने मानक जनसांख्यिकीय अनुपातका आधारमा निकालेका हौं,’ नेपालका लागि यूएनएफपीएका प्रतिनिधि श्रीराम हरिदास भन्छन् ।

अब यूएनएफपीएका टोली त्यस्ता महिलालाई व्यक्तिगत रूपमा पहिचान गरेर उनीहरूसम्म पुग्ने प्रयासमा छन् । हरिदासका अनुसार यो प्रक्रिया पूरा हुन अझै केही साता लाग्न सक्छ । अहिलेको प्राथमिकता प्रसूति सेवा सञ्चालनमा राख्नु र बाढीपछि बिग्रिएको स्वास्थ्य सेवा प्रणालीलाई पुनः सञ्चालन गर्नु हो । ‘जन्मने शिशुहरूले सडक खुल्ने समय कुर्दैनन्,’ हरिदास भन्छन् । यूएनएफपीएले घुम्ती स्वास्थ्य टोलीमार्फत गर्भपूर्व तथा प्रसवपछिको स्वास्थ्य सेवा र मनोसामाजिक सहयोग उपलब्ध गराइरहेको छ ।

संस्थाले दुई हजार डिग्निटी किट, ८०० किशोरी किट र ३०० त्रिपाल आपत्कालीन आश्रयका लागि पठाएको छ । थप ३२ वटा प्रजनन स्वास्थ्य किट परिचालनका लागि तयारी अवस्थामा छन् । तर महिलाको संख्या थाहा पाउनु र उनीहरूसमक्ष सेवा पुर्याउनुबीच आकाश–जमिनको अन्तर छ । ‘कुनै महिलालाई पहिचान गर्नु आधा काम मात्र हो,’ हरिदास भन्छन्, ‘तत्काल सहायता आवश्यक पर्दा कहाँ जाने भन्ने ती महिलालाई थाहा हुनुपर्छ । त्यहाँसम्म पुग्ने प्रभावकारी प्रणालीले पनि काम गरिरहेको हुनुपर्छ ।’ परियार र शर्मिला श्रेष्ठले असाधारण कुरा मागिरहेका छैनन् ।

उनीहरूलाई भीडबाट अलग एउटा सुरक्षित ठाउँ चाहिएको छ । बच्चालाई धूवाँ र दुर्गन्धबाट टाढा राखेर स्तनपान गराउन सक्ने ठाउँ जरुरी छ । बच्चाले खान सक्ने खाना, बिरामी पर्दा अस्पताल पुग्ने बाटो चाहिएको छ । उनीहरू केवल राहतको सूचीमा रहेको एउटा संख्या नभएर आफ्ना आवश्यकता र अधिकारसहितको मानिसका रूपमा व्यवहार हुनुपर्ने माग गर्दै छन् । बाढीको पानी घट्दै जाँदा धेरैका लागि आपत्कालीन अवस्था सकिएको हुन सक्छ । तर परियारजस्ता आमाका लागि संकट अझै जारी छ । ‘हामीलाई निकै गाह्रो भइरहेको छ,’ उनी भन्छिन्, ‘हामीलाई छुट्टै ठाउँ चाहिन्छ ।’

प्रकाशित मिति : २०८३ भदौ २१ गते आइतबार