२०८३ भदौ २२ , सोमबार 7, September 2026, Monday

डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको उच्च जोखिम

विश्व मौसम संगठन (डब्ल्युएमओ)ले डढेलो र अत्यधिक गर्मीका कारण विश्वभर वायु प्रदूषणको जोखिम लगातार बढ्दै गएको चेतावनी दिएको छ । संगठनद्वारा हालै सार्वजनिक वार्षिक ‘वायु गुणस्तर तथा जलवायु बुलेटिन’मा वायु प्रदूषण र जलवायु परिवर्तनबीच गहिरो अन्तरसम्बन्ध रहेको औंल्याइएको छ ।

जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मी तथा डढेलोको घटना र तीव्रताले मानव स्वास्थ्य एवं प्राकृतिक वातावरणमा गम्भीर खतरा उत्पन्न गराएको छ । डढेलोका कारण उत्पन्न हुने धुवाँमा २.५ माइक्रोमिटरभन्दा कम आकारका अत्यन्त सूक्ष्म कणहरू हुन्छन् । यी हानिकारक कणहरू श्वासप्रश्वासका माध्यमबाट फोक्सोको गहिरासम्म पुग्नुका साथै रक्तसञ्चार प्रणालीमा समेत प्रवेश गर्न सक्ने भएकाले स्वास्थ्यका लागि अत्यधिक जोखिमपूर्ण मानिन्छन् ।

यस्तो धुवाँ हावाको बहावसँगै टाढा–टाढासम्म फैलिने हुनाले आगलागी भएको क्षेत्रबाट टाढाका मानव बस्ती र वन्यजन्तुहरू समेत प्रभावित हुने गरेका छन् । विभिन्न अध्ययनले सन् १९९० को दशकयता अत्यधिक डढेलोबाट सिर्जना हुने धुवाँका घटनाहरू तीन गुणासम्म वृद्धि भएको देखाएका छन् । त्यसैगरी, अत्यधिक गर्मीको समयमा वायुमण्डलको तल्लो सतहमा ओजोन प्रदूषणको मात्रा पनि बढ्न सक्ने र यसले विशेषगरी श्वासप्रश्वाससम्बन्धी बिरामीहरूको जोखिम थप बढाउने जनाइएको छ ।

यसका साथै कालो कार्बन र सूक्ष्म प्लास्टिक पनि वातावरणका लागि ठूला चुनौती बनेर उभिएका छन् । हिउँ तथा बरफमा जम्मा हुने कालो कार्बनले पग्लिने प्रक्रियालाई तीव्र पार्छ भने सूक्ष्म प्लास्टिक हावा, माटो र समुद्रमा समेत व्यापक रूपमा फैलिँदै गएको छ । बढ्दो यी संकटहरूलाई मध्यनजर गर्दै विश्व मौसम संगठनले वायु प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनको न्यूनीकरणलाई छुट्टाछुट्टै रूपमा नभई एकैसाथ समन्वित ढङ्गले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै दीर्घकालीन नीति निर्माणको आवश्यकता औंल्याएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार