२०८३ भदौ २२ , सोमबार 7, September 2026, Monday

कोशी ब्यारेजमा रातो बत्ती बल्यो, २४ ढोका खोलिए

पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेर दुई लाख क्युसेक प्रतिसेकेन्डभन्दा माथि पुगेको छ । पानीको बहाव उच्च भएपछि सुनसरीस्थित कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ ।

सुनसरी प्रहरीका अनुसार सोमबार दिउँसो १२ः१५ बजे गरिएको मापनमा कोशी ब्यारेज भएर दुई लाख सात हजार ४३५ क्युसेक प्रतिसेकेन्डका दरले पानी बगिरहेको छ । नदीमा पानीको बहाव बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोशी ब्यारेजका मुख्य ५२ र नहरका चार गरी कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलेर पानीको निकास व्यवस्थापन गरिएको छ ।

सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेपछि ब्यारेजमा चेतावनीस्वरूप रातो बत्ती बालिनाका साथै रातो झण्डा समेत फहराइएको छ । प्रहरीले सप्तकोशी नदी आसपासका तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले नदीको जलसतह र बहावको स्थितिमाथि निरन्तर निगरानी राखिरहेको जनाएको छ । लगातारको वर्षाका कारण सप्तकोशीको बहाव थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले नदी किनारका क्षेत्रमा माछा मार्ने, दाउरा टिप्ने वा अन्य कुनै पनि किसिमका गतिविधि नगर्न तथा पूर्ण रूपमा सुरक्षित रहन सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार