सप्तरीका ५० वर्षीय टोल्का सदाको आँखा थकित छन् भने अनुहारका चाउरीमा चिन्ताको गहिरो रेखा देखिन्छ । पहाडी बाटोमा लामो दुरी हिँड्दा उनका गोडा दुखेका छन् । भोक र आक्रोशका बिच आशा र निराशासँग पौँठेजोरी खेल्दै उनी एउटै लक्ष्यमा केन्द्रित छन्, बेपत्ता छोराको खोजी ।
तराईका बासिन्दा टोल्काका एक्ला छोरा १९ वर्षीय विनोद सदा भदौ १० मा उत्तरी नेपालका क्षेत्रहरूमा आएको भीषण बाढी र पहिरोपछि बेपत्ता छन् । बाढीले घर, विद्यालय, पुल र जलविद्युत् आयोजनाहरू ध्वस्त पारेको थियो । भोटेकोशी नदीमा बाढी आउनुभन्दा एक दिनअघि टोल्काले छोरासँग कुरा गरेका थिए । विनोद एक महिनाअघि मात्रै रसुवास्थित एक जलविद्युत् आयोजनामा ज्यामी काम गर्न पुगेका थिए ।
उनीसँगै काम गर्ने १७ देखि १९ वर्ष उमेर समूहका अन्य चार जना युवा पनि बाढीपछि बेपत्ता छन् । श्रीमतीको रोदन र आफ्नो गहिरो पीडा सम्झिँदै टोल्का भन्छन्, ‘म भन्न सक्दिनँ मेरी श्रीमती कति रोइरहेकी छिन्, म आफैँ गहिरो पीडामा छु । के गर्ने भन्ने बुझ्न सकिरहेको छैन ।’ उमेरले पाको टोल्का सुन्तला रङको प्लास्टिकलाई बर्सादीका रूपमा ओढेर अनि काँधमा धुमिल झोला भिरेर भाइका साथमा यो कठिन यात्रामा निस्किएका छन् ।
नको खल्तीमा फोहोर रुमालभित्र पोको पारिएको दुई हजार रुपैयाँभन्दा कम पैसा छ । छोराको खोजीमा निस्कन उनले सयकडा २० रुपैयाँ ब्याज तिर्ने गरी ऋण लिएका थिए । सोही रकमबाट बस चढेर दाजुभाइ सप्तरीबाट २९२ किलोमिटर टाढाको काठमाडौँ पुगे । काठमाडौँ पुगेपछि उनीहरू जीवितै भेटिने आशा वा मृतकको सूची हेर्न अस्पताल–अस्पताल धाए ।
शव गृहबाहिर राखिएका तस्वीरहरू चिन्नै नसकिने खालका थिए । त्यहाँ विनोदको कुनै सुराक वा नाम भेटिएन । त्यसपछि टोल्का छोराले काम गर्ने जलविद्युत् आयोजनाको नजिक पर्ने नुवाकोटतर्फ (काठमाडौँबाट करिब ६० किमी टाढा) पैदलै अघि बढे । भत्किएका सडकहरूमा घण्टौँको कठिन पैदल यात्रापछि उनीहरू त्रिशूली पुगे । त्रिशूली बजार अहिले लेदो र भग्नावशेषले ढाकिएको छ ।
‘गएराति यहाँ पुग्दा एक लजले बस्नका लागि १५ सय रुपैयाँ लियो, उनीहरूले अलिकति मात्र भात दिए जसले हाम्रो भोक पनि मेटिएन,’ टोल्काले भने, ‘अब यहाँ अर्को रात बस्नुपर्यो भने मेरो बाँकी पैसा सिद्धिनेछ र घर फर्कन केही बाँकी रहनेछैन ।’ टोल्का र उनका भाइ शवगृह तथा उद्धारका लागि खटिएका सैन्य क्याम्पहरूमा पुग्न चाहन्छन्, तर उनीहरूलाई पटक–पटक फर्काइएको छ ।
उनीहरू आफ्नो पुकार सुनुवाइ नहुनुमा नेपालको जातीय र साम्प्रदायिक भेदभाव कारक रहेको ठान्छन् । तराईका मुसहर समुदायका उनीहरू आफूहरूलाई भाषा र आर्थिक अवस्थाका कारण हेपिएको महसुस गर्छन् ।
‘हामी गरिब छौँ, उनीहरू हामीलाई मधेसी र बिहारी ठान्छन्, हामी नेपाली खरर बोल्न सक्दैनौँ जसले गर्दा उनीहरू हामीलाई धकेल्छन् र यताउति दौडाउँछन्,’ टोल्काले रुँदै भने, ‘शव नै भए पनि हेर्ने हाम्रो अधिकार छ, हामीले प्रहरी चौकीदेखि सेनाको क्याम्पसम्म नाम दर्ता गराएका छौँ तर कसैले सहयोग गरिरहेका छैनन् ।’
नेपाली अधिकारीहरू भने विपद्को विशाल रूपका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको र सबै प्रभावितहरूसम्म पुग्ने प्रयास भइरहेको बताउँछन् । यस विपद्मा एक हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने हजारौँ अझै बेपत्ता छन् ।दाजुभाइले विनोदको फोनमा बारम्बार डायल गर्छन्, तर कुनै सम्पर्क हुन सकेको छैन । घरमा सबैको मन टुटेको छ ।
‘मेरो छोरा सानै छ, उ ज्यामी काम गर्ने भएकाले फुर्तिलो छ, उ पक्कै कतै भागेर वा हिँडेर ज्यान जोगाउन सफल भयो होला,’ टोल्का एकातिर चमत्कारको आशा गर्छन् भने अर्कोतिर निराशा पोख्छन्, ‘मलाई अब कुनै आशा छैन, यदि विनोद जीवितै भएको भए पानी खान गएका बेला भए पनि कतैबाट फोन पक्कै गथ्र्यो ।’
तर, अझै पनि हार मान्ने पक्षमा उनीहरू छैनन् । उनीहरू विनोदले काम गर्ने जलविद्युत् आयोजनातर्फको यात्रा जारी राख्ने तयारी गर्दैछन् । टोल्का आक्रोशित हुँदै भन्छन्, ‘यदि कसैले जवाफ दिएन वा सहयोग गरेन भने हामीले प्रहरी चौकीमा आगो लगाउनुपर्ने हुन्छ ।’

