२०८३ भदौ १८ , बिहीबार 3, September 2026, Thursday

बाँकेमा विद्यालय छाड्ने समस्या चुनौतीपूर्ण

बाँकेका स्थानीय तहमा साक्षरता दरमा उल्लेख्य सुधार भए पनि पालिकाबीचको शैक्षिक असमानता, उच्च शिक्षामा न्यून पहुँच र विद्यालय छाड्ने समस्या अझै चुनौतीका रूपमा देखिएको छ । जिल्लाका स्थानीय तहको तथ्याङ्क हेर्दा साक्षरता दर ४७.९ प्रतिशतदेखि ९६.१४ प्रतिशतसम्म रहेको पाइएको छ ।

कोहलपुर नगरपालिकाको साक्षरता दर जिल्लामै उच्च ९६.१४ प्रतिशत रहेको छ । नगरपालिकाका शिक्षा अधिकृत रविलाल मिजारका अनुसार कक्षा १ देखि ५ सम्मको विद्यालय छाड्ने दर ०.७६ प्रतिशत, कक्षा ६ देखि ८ सम्म १.३१ प्रतिशत र कक्षा ९ देखि १० सम्म ०.९७ प्रतिशत रहेको छ । जानकी गाउँपालिकाको साक्षरता दर ९३.७ प्रतिशत रहेको शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले जानकारी दिइन् ।

नेपालगन्ज उपमहानगरपालिकामा ७६.२ प्रतिशत र राप्तीसोनारी गाउँपालिकामा ७५ प्रतिशत नागरिक साक्षर रहेको सम्बन्धित स्थानीय तहले जनाएका छन् । डुडुवा गाउँपालिकाले भने हालसम्म आधिकारिक साक्षरता सर्वेक्षण नगरे पनि करिब ७५ प्रतिशत नागरिक साक्षर रहेको वरिष्ठ शिक्षा अधिकृत सञ्जयकुमार कर्णले बताए । खजुरा गाउँपालिकामा साक्षरता दर ६५.४३ प्रतिशत छ । त्यहाँ २१ हजार ७३६ जना अझै निरक्षर रहेको तथ्याङ्क छ ।

उच्च शिक्षा हासिल गर्नेको सङ्ख्या ६.०६ प्रतिशतमा सीमित छ । विद्यालय शिक्षाबिचमै छाड्नेको सङ्ख्या पनि नौ हजार ७२२ रहेको पालिकाले जनाएको छ । सामाजिक र आर्थिक कारण विद्यालय छाड्ने प्रमुख कारण देखिएका छन् । विवाहका कारण २३.३४ प्रतिशत र घरायसी कामका कारण १३.३१ प्रतिशतले पढाइ छाडेको तथ्याङ्क छ । डुडुवामा भने उच्च शिक्षामा ड्रपआउट दर पाँच प्रतिशतभन्दा कम रहेको शिक्षा अधिकृत कर्णले बताए ।

विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न दिवा खाजा, छात्रवृत्ति, सचेतना कार्यक्रम तथा साइकल वितरण लगायतका कार्यक्रम सञ्चालन भइरहे पनि गरिबी प्रमुख बाधक रहेको उनको भनाइ छ । गरिबी र विद्यालय छाड्ने समस्या समाधान गर्न स्थानीय तहको प्रयास मात्र पर्याप्त नहुने भन्दै उनले सङ्घीय सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । राप्तीसोनारीमा २० माध्यमिक, १७ प्राथमिक, १५ आधारभूत, १८ संस्थागत विद्यालय र दुई मदरसा सञ्चालनमा छन् ।

प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार