भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजना ध्वस्त बनाएपछि नेपालबाट बंगलादेश हुँदै आएको विद्युत् निर्यात पूर्ण रूपमा ठप्प भएको छ । सम्झौताअनुसार बंगलादेश पठाउन लागिएको ४० मेगावाट बिजुली उत्पादन गर्ने चिलिमे र त्रिशूली आयोजनामै क्षति पुगेपछि निर्यात रोकिएको हो ।
भारत र बंगलादेश गरी करिब १२ सय मेगावाटसम्म विद्युत् निर्यात अनुमति पाएको नेपालमा उत्पादन घटेपछि निर्यात प्रभावित भएको छ । बाढीका कारण प्राधिकरण र निजी क्षेत्रका गरी १२ वटा जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको छ । जसले गर्दा देशभित्रको उत्पादन प्रभावित हुनुका साथै निर्यातमा समेत प्रत्यक्ष दबाब परेको छ ।
आयोजनामा पुगेको क्षतिका कारण उत्पादन स्वात्तै घटेपछि भारततर्फ पठाइँदै आएको बिजुली पनि घटाउनुपरेको प्राधिकरणले जनाएको छ । उत्पादन थप्प हुनुका साथै निर्माणाधीन र सञ्चालनमा रहेका आयोजनाका श्रमिक तथा कर्मचारीको उद्धार कार्यसमेत अत्यन्त जटिल बनेको छ । लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–३ ‘ए’ र माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाका सुरुङ तथा आउटलेटमा भरिएको लेदो र माटो पन्छाउन सेनासहितको टोलीले रातभर काम गरिरहेको छ ।
प्रभावित १२ वटा आयोजनामा कार्यरत ९७४ जना नेपाली तथा विदेशी कामदार बाढीपछि अझै सम्पर्कविहीन रहेका छन् । बाढी आएको एक साता बितिसक्दा पनि सुरुङ, भूमिगत विद्युत्गृह र आवास क्षेत्रमा फसेकाहरूको अवस्था यकिन हुन सकेको छैन । नेपाली सेनाको नेतृत्वमा उद्धार टोली परिचालन गरिए पनि कठिन भूगोल, पहिरो र सुरुङमा जमेको लेदोका कारण उद्धार कार्य अत्यन्त जोखिमपूर्ण बनेको छ । आयोजनाहरू पुनः सञ्चालनमा नआएसम्म विद्युत् निर्यात सुचारु हुन कठिन देखिन्छ ।

