२०८३ साउन ५ , मंगलबार 21, July 2026, Tuesday

चल्ला र अण्डा बेचेरै एक करोड १२ लाख राजस्व

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ साउन ५ गते मंगलबार

बाँकेको जानकी गाउँपालिका–४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्मले गत आव २०८२–८३ मा चल्ला तथा अण्डा लगायत बिक्रीबाट एक करोड १२ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । फार्मले विभिन्न प्रजातिका लोकल कुखुराहरु अनुसन्धान, उत्पादन तथा बजारीकरण गर्दै आएको छ ।

फार्मबाट गत आवमा चल्ला, अण्डा, कुखुरा, मल लगायतको बिक्रीबाट एक करोड १२ लाख १४ हजार ८२२ रुपियाँ राजस्व सङ्कलन भएको फार्म प्रबन्धक राधा पन्थी पाण्डेले जानकारी दिइन् । गत आवमा फार्मबाट एक लाख ७८ हजार १७१ एक दिने लोकल चल्ला र तीन लाख १९ हजार ८३९ अण्डा उत्पादन भएको थियो ।

जसमध्ये दुई लाख ४१ हजार ६८१ अण्डा (ओथारो अण्डा) चल्ला उत्पादनका लागि प्रयोग भएको, ६९ हजार ५०७ राम्रो, चार हजार छ वटा चर्केको अण्डा र तीन हजार १०७ ओथारो बिक्री वितरण गरिएको थियो । अघिल्लो आव २०८१–८२ मा फार्मबाट एक लाख ७८ हजार ६५९ चल्ला र तीन लाख चार हजार १०२ वटा अण्डा उत्पादन तथा बिक्री भएको थियो ।

जसबाट एक करोड ४२ लाख १०३ रुपियाँ राजस्व सङ्कलन भएको थियो । त्यसैगरी आव २०८०–८१ मा फार्मबाट एक लाख ८१ हजार ९६६ चल्ला उत्पादन भएका थिए । चल्ला, अण्डा, कुखुरा, मललगायतको बिक्रीबाट एक करोड सात लाख दुई हजार १०९ रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

फार्मले वार्षिक लाखौँको सङ्ख्यामा विभिन्न प्रजातिका लोकल कुखुराका चल्ला उत्पादन गरेर बिक्री वितरण गर्दैै आएको हो । ग्रामीण कुखुराका चल्ला उत्पादन तथा वितरण, आनुवांशिक स्रोत संरक्षण, नवीनतम जातका पन्छीहरुको अनुसन्धान तथा कृषकलाई विभिन्न तालिम तथा प्राविधिक सहयोग, सेवा परामर्शसमेत फार्मले प्रदान गर्दैआएको फार्म प्रबन्धक पाण्डेले जानकारी दिनुभयो ।

फार्मभित्र जैविक सुरक्षा तथा अत्याधुनिक खोरसहितको कुखुरा फार्म, दाना मिल, ह्याचरी (चल्ला उत्पादन तथा वितरण), रोग निदान प्रयोगशाला सेवा, नवीनतम प्रजातिका पन्छीपालन, अध्ययन–परीक्षण, पानी शुद्धीकरण प्लान्ट सञ्चालन रहेको छ । फार्ममा पाँच हजार माउ अट्ने दुईवटा अत्याधुनिक खोर रहेका छन् ।

पाण्डेका अनुसार गत आवमा फार्मबाट एक लाख ५० हजार चल्ला उत्पादन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी एक लाख ७८ हजार १७१ चल्ला उत्पादन गरिएको हो । बजेटको व्यवस्था अनुसार हरेक वर्ष चल्ला उत्पादनको लक्ष्य निर्धारण गरिने उनको भनाइ छ । कृषकलाई एक दिने चल्ला सिधै फार्मबाट र हुर्किएका चल्ला ब्रुडर किसानमार्फत वितरण गर्ने व्यवस्था रहेको छ ।

वरिष्ठ प्राविधिक अधिकृत ज्ञानु बुढाका अनुसार हरेक हप्ताको सोमबार कृषकलाई फार्मबाट एक दिने चल्ला वितरण गर्दै आएको छ । एकदिने चल्लालाई प्रतिचल्ला ४५ रुपैयाँ र ब्रुडर किसानबाट बिक्री गरिने हुर्किएका चल्लालाई लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट तोकिएको दररेटमा ब्रुडर किसानले बिक्री गर्दैआएको उनले जानकारी दिए ।

ब्रुडर किसानबाट चारदेखि १२ हप्तासम्मका चल्ला वितरण हुने उनले बताए । फार्मबाट ग्रामीण ब्लाक अष्ट्रालोप र न्यू हेम्पसायर प्रजातिका कुखुराका चल्ला र लोकल खजुरा साकिनी, घाँटी खुइले, शुद्ध कालो, प्वाँख उल्टे, साकिनीका चल्ला उत्पादन, संरक्षण तथा बजारीकरण हुँदै आएको फार्मले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार