साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँमा हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । सहरी क्षेत्रमा बस्ने महिलाले पछिल्लो समय साउन लागेपछि हातमा मेहन्दी लगाउने, हरियो चुरा र पहेँलो पोते लगाउने क्रम बढेसँगै बजारमा चुरापोते र मेहन्दीको व्यापार बढेको हो ।
हिन्दूहरुले साउन महिनालाई भगवान् शिवको महिनाका रुपमा लिने गरेका छन् । हिन्दू महिला तथा पुरुषले साउन महिनाभर भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । साउनमा महिला हातमा मेहेन्दीसँगै हरियो चुरा र तथा पहेँलो पोते लगाउने गर्छन् । यस्तै, पुरुषहरूले पहेँलो वस्त्र लगाउने गर्छन् ।
काठमाडौँको इन्द्रचोकमा चुरापोतेको व्यापार गर्दै आएका अहमद मुसलमान पछिल्लो समय आफ्नो पसलमा चुरापोतेको व्यापार बढेको बताउँछन् । ‘अरु समयमा दैनिक ८–१० हजारको व्यापार हुन्थ्यो, पछिल्लो दुई चार दिनमा दैनिक २० देखि २५ हजारको व्यापार हुने गरेको छ,’ उनी भन्छन् । सोही क्षेत्रका अर्को व्यवसायी हसन अन्सारी चुरापोते किन्नका लागि आफ्नो पसलमा पनि मानिसको भीड लाग्ने गरेको बताउँछन् ।
‘बिहेको याममा हाम्रो पसलमा ग्राहक बढी मात्रामा आउनुहुन्थ्यो, साउन सुरु हुनलाग्दा ग्राहक अन्य समयकोभन्दा बढी आउनुभएको छ,’ अन्सारी भन्छन् । साउन सुरु हुनु अगाडि काठमाडौँको मुख्य बजार असन, इन्द्रचोक, बागबजारलगायत क्षेत्रमा ग्राहकको चहलपहल बढेको छ । विशेषगरी विवाहित महिलाले साउन महिनामा हरियो चुरा र पोते लगाउने धार्मिक तथा सांस्कृतिक परम्पराका कारण बजारमा यसको व्यापार बढेको हो ।
यस्तै, ब्युटीपार्लरदेखि सडकसम्म पनि मेहन्दी लगाउने महिलाको भीड देखिन्छ । राजधानीका विभिन्न बजारमा हरियो चुरा र पोतेका नयाँ डिजाइन तथा विभिन्न मूल्यका सामग्री बिक्रीवितरणमा राखिएका छन् । ग्राहकको रोजाइलाई ध्यानमा राखेर स्वदेशी तथा आयातित दुवै प्रकारका चुरा र पोते बिक्रीका लागि राखिएको छ । हरियो चुरा र पोते खरिदका लागि गोङ्गबुबाट इन्द्रचोक आएकी सरस्वती दवाडी साउन महिनामा हरियो चुरा र पोते लगाउँदा सांस्कृतिक परम्पराको संरक्षण हुने बताउँछिन् ।
यस्तै, साउन महिनामा परिवार र साथीभाइसँग मिलेर मेहन्दी लगाउने, हरियो पहिरन लगाउने तथा धार्मिक गतिविधिमा सहभागी हुने गरेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका निवर्तमान कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थी साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरियो चुरा, पोते र हातमा मेहेन्दी लगाएको किंवदन्तीका आधारमा महिला व्रत बस्दा हरियो चुरा र पहेँलो पोते लगाउने गरेको बताउँछन् ।
‘साउन महिना हरियोसँग सम्बन्धित महिनासमेत हो, यो महिनामा वर्षा बढी हुने, बोटबिरुवामा पालुवा चढ्ने, प्रकृति सुहाउँदो संस्कृतिका लागि पनि महिलाले हरियो चुरा र पोते लगाउने गरेका छन्,’ उनी भन्छन् । तीज नजिकिँदै जाँदा चुरापोतेको महत्त्व झन् बढ्दै गएको उनको भनाइ थियो । चुरापोते लगाउने संस्कृति भारतबाट आयतित संस्कृति भएको आचार्य पन्थी बताउँछन् । भारतमा बढीमात्रामा हरियो चुरा र पहेँलो पोते लगाउने गरेको उनको भनाइ छ ।
सत्यपाटी