२०८३ असार २० , शनिबार 4, July 2026, Saturday
बालेन सरकारका १०० दिन

सरकारका १०० दिन : ट्रेड युनियन खारेजीदेखि खर्च कटौतीसम्म (पूर्णपाठसहित)

वर्तमान सरकारले १०० दिने विशेष कार्यसूची नै तयार पारेर आफ्ना कामकारबाही अघि बढाएको थियो ।
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार २० गते शनिबार

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको आज १०० दिन पूरा भएको छ । १०० दिन पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका उपलब्धीको विस्तृत विवरण सार्वजनिक गरिएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारका उपलब्धिबारे सञ्चारकर्मीलाई जानकारी गराएका हुन् । वर्तमान सरकारले १०० दिने विशेष कार्यसूची नै तयार पारेर आफ्ना कामकारबाही अघि बढाएको हो । प्रवक्ता मन्त्री पोखरेलले सार्वजनिक गरेको उपलब्धि विवरणको पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी प्रतिबद्धता पत्रमा उल्लेख भए बमोजिम सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको सरकारका प्रवक्ता पोखरेलले बताए । उनले मन्त्रालयको सङ्ख्या घटाएसँगै वार्षिक करिब २० अर्ब रुपैयाँ राज्यकोषमा बचत हुने अनुमान गरिएको जानकारी दिए ।

यसैगरी, अन्य अनावश्यक प्रशासनिक संरचनाहरूको खारेजी र समायोजनमार्फत खर्च कटौती गरी कार्यक्षमता बढाउने सरकारको नीति रहेको उनले स्पष्ट पारे । राजनीतिक दल निकट मानिएका ट्रेड युनियन तथा विद्यार्थी सङ्गठनहरूको खारेजी लगायतका सुधारात्मक कार्यहरूबाट समाजमा सकारात्मक सन्देश गएको प्रवक्ता पोखरेलले उल्लेख गरे ।

प्रकाशित मिति : २०८३ असार २० गते शनिबार