२०८३ असार १० , बुधबार 25, June 2026, Thursday

प्रतिनिधिसभा निर्वाचनमा जित्नेभन्दा हार्नेको बढी खर्च

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार ११ गते बिहीबार

निर्वाचन पर्यवेक्षण समिति (इओसी) नेपालले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूले गरेको प्रचार खर्च सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार गत फागुन २१ गते सम्पन्न निर्वाचनमा जित्नेले भन्दा हार्ने उम्मेदवारले बढी खर्च गरेको पाइएको छ ।

संस्थाले मुलुकभरका १६५ क्षेत्रमध्ये छानिएका १० निर्वाचन क्षेत्रका १४४ नमुना उम्मेदवारको खर्च विश्लेषण गरेको थियो । इओसी नेपालका अध्यक्ष श्रीकृष्ण सुवेदीका अनुसार विजयी उम्मेदवारले औसत ८८ लाख रुपैयाँ खर्च गर्दा उपविजेताले त्यसको लगभग तीन गुणा बढी अर्थात् औसत दुई करोड ८३ लाख रुपैयाँ खर्च गरेका छन् ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारका लागि २५ देखि ३३ लाख रुपैयाँसम्मको खर्च सीमा तोकेको थियो । तर उम्मेदवारहरूले औसतमा ७२ लाख रुपैयाँ खर्च गरेर कानुनी दायराको व्यापक उल्लङ्घन गरेको प्रतिवेदनमा उल्लेख छ । कुल खर्चको ६७ प्रतिशत हिस्सा पराजित उम्मेदवारहरूले गरेका छन् ।

यसले निर्वाचनमा स्रोत व्यवस्थापनको गम्भीर असन्तुलन रहेको देखाएको सुवेदीले बताए । उम्मेदवारहरूले ब्यानर, र्‍याली र भोजभतेर जस्ता देखिने माध्यमभन्दा नदेखिने च्यानलतर्फ खर्च बढाएको प्रतिवेदनले औंल्याएको छ । डिजिटल प्रचार, सामाजिक सञ्जाल र अनौपचारिक परिचालन जस्ता अदृश्य माध्यम प्रयोग हुँदा अनुगमनमा कठिनाइ भएको छ ।

मित्थ्या सूचना, दुष्प्रचार र चरित्रहत्या रोक्न कानुनी प्रबन्धको अभाव देखिएको प्रतिवेदनमा उल्लेख छ । कुल खर्चको ८२ प्रतिशत रकम प्रचार अवधिमा र चार प्रतिशत रकम निर्वाचनकै दिन खर्च भएको पाइएको छ । इओसी नेपालले निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवारको आम्दानीको स्रोत अनिवार्य रूपमा सार्वजनिक गरिनुपर्ने सुझाव दिएको छ ।

डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लङ्घन रोक्न प्रविधिमैत्री अनुगमन प्रणाली विकास गर्न माग गरिएको छ । आयोगले उम्मेदवारले बुझाउने खर्च विवरण कुरेर बस्नुको सट्टा सक्रिय टोली परिचालन गरी तत्काल कारबाही गर्नुपर्ने सुझाव प्रतिवेदनमा छ । बैंक खाताबाट गरिने खर्चलाई व्यावहारिक बनाउँदै निर्वाचन प्रक्रियामा सार्वजनिक लेखापरीक्षण लागू गर्नुपर्ने सुवेदीले बताए ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहीबार