२०८३ असार ९ , मंगलबार 23, June 2026, Tuesday

चीनसँग व्यापार असन्तुलन, निर्यातभन्दा आयात धेरै

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार ९ गते मंगलबार

नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा असन्तुलन झन् गहिरिँदै गएको देखिएको छ । भन्सार विभागको चालु आर्थिक वर्षको पहिलो ११ महिनाको तथ्याङ्क अनुसार चीनबाट ठूलो परिमाणमा वस्तु आयात भए पनि निर्यात भने अत्यन्त न्यून रहेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालले चीनबाट तीन खर्ब ८२ अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात गरेको छ । तर सोही अवधिमा चीनतर्फ नेपालको निर्यात भने एक अर्ब ५९ करोड रुपैयाँभन्दा बढी मात्रै रहेको छ ।

रकमका आधारमा चीन नेपालको प्रमुख निर्यात गन्तव्यहरूको सूचीमा दसौँ स्थानमा रहेको छ । यसले नेपाल–चीन व्यापार सम्बन्धमा ठूलो व्यापार घाटा रहेको सङ्केत गर्दछ । यता, नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँगको व्यापार पनि उच्च रहेको छ ।

विभागका अनुसार ११ महिनामा नेपालले भारतबाट १० खर्ब ९२ अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात गरेको छ भने भारततर्फ दुई खर्ब २८ अर्ब १३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । तथ्याङ्क अनुसार भारत नेपालको सबैभन्दा ठूलो आयात स्रोत र प्रमुख निर्यात गन्तव्य बनेको छ ।

कुल आयातमध्ये ५७.७ प्रतिशत हिस्सा भारतको रहेको छ भने कुल निर्यातमध्ये ८२.१ प्रतिशत हिस्सा भारततर्फ गएको छ । व्यापार विज्ञहरूका अनुसार चीनसँगको अत्यधिक आयात र न्यून निर्यातले नेपालको व्यापार सन्तुलनमा दबाब बढाइरहेको छ । उनीहरूका अनुसार चीनतर्फ नेपाली उत्पादनको पहुँच विस्तार, निर्यातयोग्य वस्तुको उत्पादन वृद्धि तथा व्यापार सहजीकरणको उपायहरू अवलम्बन गर्न आवश्यक देखिन्छ ।

प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार