२०८३ असार ५ , शुक्रबार 19, June 2026, Friday

कानुन बनाउन सहयोग माग्दै मन्त्री महावीर पुनले ‘लिस्ट’ नै पढेपछि…

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार ४ गते बिहीबार

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नो मन्त्रालयसँग सम्बन्धित कानुन बनाउन सांसदहरूसँग सहयोग मागेका छन् । बिहीबार (असार ४) प्रतिनिधिसभा बैठकमा उनले बजेट खर्चका निम्ति पहिले काुनन चाहिने बताएका हुन् । ‘माननीयज्यूहरू सबैको सहयोग चाहियो, अब कानुन बनाउनुपर्यो । जिरोबाट सुरु गर्नुपर्यो, एउटा पनि कानुन छैन,’ उनले भने । आउँदो आर्थिक वर्षलाई आफ्नो मन्त्रालयका निम्ति छुट्ट्याइएको बजेट बढी भएको भन्ने लागेको उनले उल्लेख गरे ।

‘यो वर्षलाई अलिक बढी भयो कि भनेको छु । चार अर्ब पैसा छुट्ट्यायो, साढे तीन अर्ब अबन्डामा छ । त्यो पैसालाई खर्च गर्न ऐन, कानुन, नियमावली केके बन्नुपर्छ,’ उनले भने, ‘त्यो संयन्त्र बनेकै छैन, जिरोबाट । भोलि त्यतिकै खर्च गर्यो भने हामीलाई अख्तियारले पक्रिहाल्छ, फलानो मन्त्रीले हिनामिना ग¥यो भनेर ।’ बैठकमा उनले आफ्नो मन्त्रालयका निम्ति चाहिने ऐनको लिस्ट पढे । सबैभन्दा सुरुमा विज्ञान, प्रविधि तथा नवप्रर्वतन ऐन चाहिने उनले सुनाए ।

यस्ता छन् उनले माग गरेका ऐन

– विज्ञान, प्रविधि तथा नवप्रर्वतन ऐन
– राष्ट्रिय अनुुसन्धान तथा विकास ऐन
– आणविक ऊर्जा ऐन
– जैविक सुरक्षा तथा प्रविधि नियमन ऐन
– रासायनिक पदार्थ व्यवस्थापन ऐन
– वैज्ञानिक मापन तथा मेट्रोलोजी ऐन
– विज्ञान तथा प्रविधि तथ्यांक ऐन
– ओजन संरक्षण तथा सौर्य बिकिरण मापन ऐन
– नवप्रवर्तन तथा स्टार्टअप प्रवर्द्धन ऐन
– नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ऐन
– अन्तरराष्ट्रिय सहकार्य सम्बन्धी ऐन
– राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान ऐन (राष्ट्रियसभामा छ ।)

प्रकाशित मिति : २०८३ असार ४ गते बिहीबार