२०८३ भदौ १८ , बिहीबार 3, September 2026, Thursday

रास्वपा महाधिवेशनमा बनाइँदै सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका क्रममा सात हजार बढी कुर्सी अट्ने अस्थायी प्रकृतिको सभाहल (डोम) बनाउने काम सुरु भएको छ । यही असार ७ देखि ९ गतेसम्म पूर्वी–चितवनको रत्ननगरमा हुने पार्टीको तीनदिने महाधिवेशनका लागि टाँडीस्थित होटल स्टारको सभाकक्षसँगै रहेको खाली जमिनमा बाँसको ‘डोम’ बनाउने काम सुरु भएको हो ।

रत्ननगर नगरपालिका–१ स्थित होटलको सभाकक्षसँगै रहेको टिनको टहरालाई जोडेर ३२ हजार ४८० स्क्वायर फिटकोे जमिनमा महाधिवेशनस्थल बनाउने काम सुरु भएको हो । रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार सातदेखि आठ हजार कुर्सी अट्ने गरी महाधिवेशनस्थल बनाउने काम धमाधम अघि बढेको छ । डोमको बीचमा २९ फिट र छेउमा १६ फिट अग्लो हुने गरी संरचना बन्ने छ ।

माथि त्रिपाल लगाउने र १६ फिट सिदा हुने गरी पानी नचुहिने उच्चस्तरको टेण्ट डोममा राखिने छ । केन्द्रीय सदस्य गौतमले भने, ‘महाधिवेशनका लागि आवश्यक अस्थायी प्रकृतिको सभाहल ‘डोम’ बनाउने क्रममा बाँस प्रयोग गरी काम तीव्र गतिमा अघि बढिरहेको छ । डोमभित्र ७० वटा ठूला पंखा र २० वटा कुलरको व्यवस्था गरिनेछ । बाहिरपट्टी टेन्ट राखेर बस्ने ठाउँ बनाउने तयारी गरिएको छ । सँगै रहेको होटल स्टारको ठूलो सभाहललाई आवश्यकता अनुसार प्रयोग गर्नेगरी निर्माण सम्बन्धी काम धमाधम अघि बढिरहेको छ ।’

उनले महाधिवेशनमा आउने सहभागीका लागि सौराहा, रत्ननगर र भरतपुरका होटलमा अवासको प्रबन्ध गरिने बताए । सहुलियत दरमा कोठाको व्यवस्थाका लागि होटल व्यवसायीसँग अनुरोध गरिएको बताउँदै उनले सहभागी स्वयंले खर्च बेहोर्ने गरी कोठाको व्यवस्था मिलाउन लागिएको जानकारी दिए । महाधिवेशन उद्घाटनको दिन नजिक पर्ने टिकौलीचौरमा सवारीसाधन ‘पार्किङ’ गरी त्यहाँबाट अर्को गाडीले कार्यक्रमस्थलसम्म लाने–ल्याउने व्यवस्था मिलाइएको केन्द्रीय सदस्य गौतमले बताए ।

बताउँदै नेता गौतमले महाधिवेशन उद्घाटन सत्रपछि बिहानदेखि साँझसम्म खानाको व्यवस्था कार्यक्रमस्थलमै गरिएको जानकारी दिए । पार्टीको स्थानीय जिल्ला र नगरकमिटी, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरुको समन्वयमा महाअधिवेशन तयारीको काम भइरहेको स्पष्ट गर्दै नेता गौतमले महाधिवेशन सम्पन्न गर्न गठित १८ वटा उपसमिति आ–आफ्नो काममा व्यस्त रहेको बताए । महाधिवेशन तयारीका सन्दर्भमा पार्टीका प्रवक्ता मनिष झाले स्थानीय जिल्ला कमिटीका तर्फबाट तयारीका काम भइरहेको बताए ।

उनले असार २ गते मंगलबारदेखि राष्ट्रिय महाधिवेशनको सचिवालय सञ्चालनमा आउने र असार ४ गतेदेखि पार्टीका पदाधिकारी एवं नेताहरु महाधिवेशनस्थलमै रहने जानकारी दिए । पार्टीको उद्घाटन समारोहमा राष्ट्रियस्तरका राजनीतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरेको जानकारी दिँदै प्रवक्ता झाले करिब तीन हजार प्रतिनिधि महाधिवेशनमा सहभागी हुने बताए । उद्घाटनपछि दोस्रो दिन विधानमाथि छलफल भई नयाँ नेतृत्व चयन गरी तीनदिने महाधिवेशन सम्पन्न हुने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २ गते मंगलबार