२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

गृहमन्त्रीमा सुधनको ‘कमव्याक’, महावीर पनि मन्त्री

सम्पत्ति विवादमा परी गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका सुधन गुरुङ छानबिन समितिको क्लिन चिटपछि पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । आजै उनको सपथग्रहण हुने भएको छ ।

यसअघि सम्पत्तिलगायत विभिन्न विवादमा नाम तानिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । सरकारले उनीमाथि छानबिन गर्न एक समिति गठन गरेको थियो । उक्त समितिले क्लिन चिट प्रदान गरेपछि गुरुङलाई गृहमन्त्रालयमा फर्काउने निर्णय गरिएको हो ।

पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारीको नेतृत्वमा गठित छानबिन समितिले गुरुङको सम्पत्तिमा विवाद गर्नुपर्ने कुनै आधार नरहेको निष्कर्ष निकालेको छ । समितिका अनुसार गुरुङसँग रहेको सुन पुख्र्याैली सम्पत्ति हो भने जग्गा खरिदमा देखिएको अनियमितता व्यक्तिगत नभई राज्यको प्रणालीगत कमजोरीको परिणाम रहेको उल्लेख गरिएको छ ।

महावीर पनि बन्दै मन्त्री

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङसँगै महावीर पुनलाई मन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् । ‍आज दिउँसो ३ बजे दुवैजनालाई नियुक्ति गरेर राष्ट्रपति निवास सितलनिवासमा शपथ ग्रहण गराउने कार्यक्रम रहेको जनाइएको छ ।

सुधन गुरुङ सम्पत्ति र सेयरको विषयमा विवादमा परेपछि राजीनामा दिएका थिए । त्यसपछि सरकारले बनाएको छानिबिन समितिले उनीमाथि अनुसन्धान गरेर मंगलबार नै सरकारले सो प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । त्यस्तै, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा सो मन्त्रालय स्थापनाको माग गर्दै आएका स्वतन्त्र सांसद महावीर पुनलाई नै नियुक्त गर्ने निर्णय प्रधानमन्त्री शाहले लिएका छन् ।

प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार