२०८३ जेठ २६ , मंगलबार 9, June 2026, Tuesday

महावीरको संघर्ष : ‘दशकौँपछि नवप्रवर्तनलाई मान्यता, पहिलो मन्त्री आफैं’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ २६ गते मंगलबार

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन बन्ने पक्का भएको छ । महावीरले वर्षौँदेखि उठाउँदै आएको एउटा प्रमुख एजेन्डाले अन्ततः राजनीतिक तथा संस्थागत मान्यता मात्रै पाएन, स्वयम उनी नै त्यो मन्त्रालयको पहिलो मन्त्री बन्न लागेका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले पुनलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व सुम्पने निर्णय गरेका हुन् । दुर्गम गाउँसम्म वायरलेस इन्टरनेट पुर्याएर अन्तर्राष्ट्रिय स्तरमा परिचित बनेका पुनले लामो समयदेखि नेपालमा अनुसन्धान, आविष्कार र प्रविधि विकासलाई प्राथमिकता दिन छुट्टै मन्त्रालय आवश्यक रहेको धारणा राख्दै आएका थिए ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेदेखि नै उनले राज्यले नवप्रवर्तन र अनुसन्धानलाई नीतिगत रूपमा संरक्षण गर्नुपर्ने माग निरन्तर उठाएका थिए । यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्दा पनि पुनले शिक्षा र विज्ञान–प्रविधिलाई अलग–अलग ढंगले अघि बढाउनुपर्ने तर्क गर्दै आएका थिए ।

अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासका विषय शिक्षा प्रशासनको छाँयामा परेकाले छुट्टै मन्त्रालय आवश्यक रहेको उनको धारणा थियो । अब भने पुनले मन्त्रालय गठन गराउने आफ्नो अभियानलाई सफल बनाएका मात्र छैनन्, त्यसको नेतृत्व गर्ने अवसरसमेत पाएका छन् ।

यसलाई उनको व्यक्तिगत जित मात्र नभई नेपालमा अनुसन्धान, आविष्कार, विज्ञान र प्रविधिलाई राज्यको प्राथमिकतामा स्थापित गर्ने अभियानको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत युवा वैज्ञानिक, अनुसन्धानकर्ता र नवप्रवर्तकलाई प्रोत्साहन गर्दै आएका पुन अब सरकारभित्रैबाट आफ्नो सोच कार्यान्वयन गर्ने भूमिकामा पुगेका छन् ।

त्यसैले नवप्रवर्तन मन्त्रालयको स्थापना र त्यसको पहिलो मन्त्रीका रूपमा उनको नियुक्तिलाई उनको दशकौँ लामो संघर्षको सफलता हो भन्दा फरक नपर्ला । यद्यपि, अब मन्त्री नै बनेपछि उनले नवप्रवर्तनको काम के कसरी गर्नेछन् त्यो समयले देखाउने नै छ ।

प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार