एकताको लागि संवाद र सहमतिका बुँदामा नेताहरुको दौडधुप चलिरहे पनि नेपाली कांग्रेसभित्रको आन्तरिक कलह टुङ्गोमा पुग्न सकेको छैन । नेताहरुको असन्तुष्टि र विवादास्पद भनाईले कांग्रेसको एकता अभियान नै संकटमा परेको छ । कांग्रेस सभापति गगन थापासँग ३१ दिनसम्म कुनै माध्यमबाट पनि सम्पर्क नभएको भन्दै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार दिएको सार्वजनिक धारणापछि कांग्रेसको आन्तरिक विवाद थप बढेको छ ।
यसले संस्थापन र इतर पक्षबीच एकताको प्रयास झन् संकटमा परेको छ । उपसभापति विश्वप्रकाश शर्माले खड्काको त्यस्तो धारणाबाट आफू ‘अचम्मित’ भएको बताए । उनले पार्टी एकताकै लागि आफ्नै मोबाइलबाट १६ जेठमा ७ बुँदाको प्रस्ताव खड्कालाई पठाइएको जानकारी दिए । ७ बुँदाको प्रस्ताव सभापति थापासँगै बसेर तयार पारिएको थियो । शर्माका अनुसार त्यसको कुनै पनि जवाफ एक सातासम्म नआएपछि थापासँगको परामर्शमा २२ जेठमा गल्फुटारस्थित निवासमै पुगेर खड्कालाई भेटेका थिए ।
त्यस क्रममा साढे दुई घण्टासम्म संवाद भएको उपसभापति शर्माले बताए । त्यस बीचमा ‘ह्वाट्सएप’ मा पठाइएको सात बुँदा र खड्काले राखेका थप केही विषयमाथि छलफल भएपछि शर्मा निस्केका थिए । खड्काले सहमतिका लागि तयार पारिएको सात बुँदा अहिल्यै खुलाउन नमिल्ने बताए । यद्यपि, त्यसमा केन्द्रीय कार्यसमितिमा सहभागिता संख्यादेखि, महाधिवेशन तयारी समिति, क्रियाशील सदस्यताको अद्यावधि गर्ने विषयदेखि छानबिन, निर्वाचन, अनुशासन समितिदेखि भ्रातृ संस्थाहरूको सहभागिता लगायतका विषय समावेश थिए ।
खड्का र शर्माबीच आ–आफ्नो समूहमा थप छलफल गरेर दुई दिनपछि पुनः बस्ने गरी २२ जेठको बैठक टुंगिएको थियो । बैठकबारे शर्माले २४ जेठमा सभापति थापासँग छलफल गरेका थिए । खड्काले पनि आफ्नो समूहका नेताहरूसँग संवाद गरेका थिए । स्रोतका अनुसार नजिक रहेका केही नेताहरूले सिंगापुरमा रहेका पूर्वसभापति शेरबहादुर देउवालाई समेत यसबारेमा जानकारी गराएका थिए । सभापति थापासँग खड्काको पछिल्लो भेट २२ वैशाखमा भएको थियो । त्यस भेटमा उपसभापति शर्मासँगै थिए ।
त्यसै दिनदेखि थापासँग आफ्नो सम्पर्क नभएको खड्काले बताएका हुन् । खड्कालाई भेटकै दिन थापाले अर्का नेता शेखर कोइरालालाई पनि भेटेका थिए । पार्टी एकताको पक्षमा पछिल्लो पटक आफूले गरेको पहलकदमी पनि थापाकै सल्लाह बमोजिम भइरहेको शर्माले बताए । विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई नै सर्वोच्च अदालतले ४ वैशाखमा सदर गरेलगत्तै थापाले खड्कालाई भेटेर एकताको पहल थालेका हुन् । ६ वैशाखमा थापाले खड्कालाई विशेष महाधिवेशनपछि पहिलोपल्ट भेटेका थिए ।
त्यसपछि खड्का र कोइराला समूहका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नेदेखि नेताहरूको व्यवस्थापनका लागि विभिन्न मोडलमा छलफल भइरहेका बेला खड्काले सार्वजनिक गरेको धारणाले एकताको वातावरण थप बिग्रेको संस्थापन पक्षीय नेताहरूको भनाइ छ । खड्काले सामाजिक सञ्जालमार्फत सभापति थापासँग ‘कुनै पनि प्रकृतिको सम्पर्क, संवाद नभएको आज ३१ दिन भयो’ भन्दै एकताका लागि इमानदार प्रयत्न नभएको बताएका छन् ।
‘दुई महिनादेखि पार्टीको सम्पूर्ण एकताको लागि इमानदार प्रयत्न गर्दा पनि आजसम्म खासै कुनै प्रगति भएको छैन,’ उनले भनेका छन्, ‘अहिले आएर केही दिनयता पार्टीका बारेमा चलाइएका यथार्थभन्दा फरक हल्ला र विकसित घटनाक्रमबाट म चिन्तित भएको छु ।’ खड्का निकट केन्द्रीय सदस्य श्याम घिमिरेले २२ वैशाखमा भएको भेटमा धेरै कुरा मिलिसकेको र भोलिपल्टै आएर सहमति गर्ने भनी बाहिरिएका सभापति थापा त्यसपछि नआएकाले आशंका उब्जेको बताए । ‘सभापतिजी वार्तामा बस्दा सबै कुरा मिलाउन सकारात्मक हुनुहुन्छ तर बाहिर गएपछि टाढिएको अनुभव भएको छ,’ उनले भने, ‘यसले हामीलाई आशंका बढाएको छ ।’
खड्काले क्रियाशील सदस्य अद्यावधिका लागि जिल्ला–जिल्लामा दबाब दिइएको भन्दै त्यसको समेत विरोध गरेका छन् । यो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्तै घातक रहेको उनको टिप्पणी छ । अर्कोतर्फ अद्यावधि नगराएका तर १० पुससम्म नवीकरण र नयाँ सदस्यता लिएका सबैलाई महाधिवेशनमा भाग लिनका लागि सुनिश्चित गरिने भनेर खड्काले दिएको अभिव्यक्तिले पनि संस्थापन पक्ष चिढिएको छ । ‘सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्थाको सुनिश्चितता गर्नु हाम्रो जिम्मेवारी हो ढुक्क हुनुस्,’ खड्काले आइतबार सामाजिक सञ्जालमा लेख्दै भनेका थिए ।
खड्काको यो भनाइपछि अद्यावधि नगरेमा महाधिवेशनमा भाग लिन पाउने कि नपाउने भन्नेमा कार्यकर्ताहरू थप अन्योलमा परेका छन् । महामन्त्री गुरुराज घिमिरे अद्यावधि नगर्ने सदस्यहरू महाधिवेशनको प्रक्रियामा सहभागी नै हुन नपाउने बताउँछन् । ‘यसमा कुनै द्विविधा छैन, जसले अद्यावधि गरेका छैनन्, उनीहरू महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउने छैनन्,’ घिमिरेले भने । २ भदौमा वडा अधिवेशन सुरु गरेर १५ औं केन्द्रीय महाधिवेशन १६–१९ असोजमा सम्पन्न गर्ने कांग्रेसको तालिका छ ।
तल्लो तहका मतदाता क्रियाशील सदस्यता हुने भएकाले वडा अधिवेशन सुरु हुनुअगाडि नै यससम्बन्धी विवाद मिलाई सक्नुपर्ने हुन्छ । २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले १ वैशाखदेखि क्रियाशील सदस्यताको नयाँ अद्यावधि अभियान सुरु गरेको छ । यसको समय सीमा २८ जेठसम्म छ । खड्का र कोइरालाले महाधिवेशनका लागि ‘अद्यावधि’ बाध्यकारी हुन नहुने अडानमा लिँदै आएका छन् भने संस्थापन पक्ष महाधिवेशनमा भाग लिन ‘अद्यावधि’ अनिवार्य भएको बताउँदै आएको छ ।
छुट्टै आयोजक समिति बनाउने इतर पक्षको मागमा संस्थापन पक्ष तयार नभएपछि इतर पक्षले तत्कालीन १४ औं महाधिवेशनमा रहेका सबै केन्द्रीय सदस्यहरूको समायोजन गर्ने विषय उठाएको छ । १४ औं महाधिवेशनमा निर्वाचित र मनोनीत गरी पूर्वसभापति देउवा पक्षमा रहेका १०९ जना तत्कालीन केन्द्रीय सदस्य अहिलेको केन्द्रीय कार्यसमितिमा छैनन् । ती सबैको समायोजन हुनुपर्ने अडान इतर पक्षले राखेको हो ।
जेठ मसान्तको डेटलाइन
उता, इतर समूह विवाद समाधानका लागि प्रगति नभएको भन्दै समय सीमा (डेटलाइन) सहित रणनीतिमा उत्रिएको छ । आन्तरिक विवाद समाधानका लागि संस्थापन इतर समूह जेठ मसान्तलाई डेटलाइन तोकेर आन्तरिक रणनीतिमा उत्रिएको हो । जेठ मसान्तभित्र सहमति नभए यसअघि नै नवीकरण भएका क्रियाशील सदस्यतामार्फत १५ औं अधिवेशनतर्फ अघि बढ्ने तयारी इतर समूहको छ ।
जेठ मसान्तभित्र पार्टीमा सहमति जुट्न नसके देशव्यापी भेला आयोजना गर्दै अधिवेशन प्रक्रियामा अघि बढ्ने तयारी भएको इतर समूहका नेताहरूले बताएका छन् । शीर्ष तहमा विवाद समाधानका लागि विभिन्न एजेन्डामा सहमति खोज्ने प्रयास जारी रहे पनि अपेक्षित प्रगति हुन सकेको छैन । निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेताहरू अब थप समय लम्ब्याउन नहुने पक्षमा देखिएका छन् ।
सत्यपाटी