२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

नेपालगन्ज नाकाबाट १० महिनामा करिब १७ अर्ब राजस्व सङ्कलन

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ जेठ २४ गते आइतबार

नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को १० महिनामा करिब १७ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार चालु आवको १० महिनामा कार्यालयले १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

उनले सो अवधिमा २० अर्ब १० करोड ७८ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिए पनि करिब १७ अर्ब रुपैयाँ मात्र राजस्व सङ्कलन भएको बताए । गत आर्थिक वर्ष २०८१–०८२ को सोही अवधिमा १६ अर्ब ४६ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिँदै प्रमुख पौडेलले चालु आवमा गत वर्षको तुलनामा करिब २७ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको बताए ।

उनका अनुसार सोही अवधिमा नेपालगन्ज नाकाबाट ७० अर्ब २३ करोड ९ लाख २४ हजार रुपैयाँ बराबरको आयात तथा २ अर्ब ८२ करोड ६९ लाख ६७ हजार रुपियाँ बराबरको निर्यात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षमा गत आवको तुलनामा आयात र निर्यात दुवै बढेका छन् ।

नेपाल–भारत सीमास्थित जमुनाह नाकामा एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा आएपछि आयात–निर्यात वृद्धि भई भन्सार राजस्व बढ्ने अपेक्षा गरिए पनि सो अनुसारको परिणाम आउन नसकेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले नेपालगन्ज नाकाबाट पछिल्ला केही वर्षयता लक्ष्य अनुसार भन्सार राजस्व सङ्कलन हुन नसकेको उल्लेख गर्दै त्यसबारे विस्तृत अध्ययन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार