२०८३ जेठ १२ , मंगलबार 26, May 2026, Tuesday

२५ करोड पर्ने सल्लाको आँख्ला निकासी नहुँदा समस्या

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ जेठ १२ गते मंगलबार

सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा परेका छन् । आँख्लाको निकासी कर शतप्रतिशत भएकाले रु २५ करोड बराबरको १२ टन सल्लाको आँख्ला गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क शर्माले बताए ।

‘भन्सार निकासी छुट भए सल्लाको आँख्ला भारत निकासी हुन्छ, व्यवसायीले लगानी गरेर गोदाममा थन्क्याएका छन्,’ उनले भने । अध्यक्ष शर्माले सरकारसँग आग्रह गरे पनि यसको समाधान हुन नसकेको बताए । करिब ३० वर्ष पुरानो सल्लाको रुखबाट त्यस्तो आँख्ला निस्कने गरेको र त्यसलाई भारतमा श्रीखण्ड जस्तै महत्व दिने गरिएको उनको भनाइ छ ।

अध्यक्ष शर्माका अनुसार डोटी, डडेल्धुरा, बैतडी, जाजरकोट, सल्यान, दैलेख, रुकुम लगायत जिल्लाबाट सल्लाको आँख्ला नेपालगन्ज आउने गरेको छ । यसबाहेक जटामसी, अमला, खिरौला, दालचिनी पनि निकासी हुन सकेको छैन । यी जडीबुटी भारतमा सूचीकृत नभएका कारण निकासी हुन नसकेको उनले बताए ।

अध्यक्ष शर्माले नेपालमा जडीबुटीबाट प्रशस्त सम्भावना रहे पनि त्यसतर्फ ध्यान र चासो पुग्न नसकेको औँल्याउँदै नेपालको घरघरमा जडीबुटीको उत्पादन भइरहेको बताए । यसअघि २०८२ मंसीर २७ गतेदेखि देशमै पहिलो पटक नेपालगन्जस्थित आइसिपीबाट देशमै पहिलो पटक मिथाइल ब्रोमाइड फ्युमिगेसन सुरु गरेपछि सल्लाको आँख्ला अब निकासी हुन थालेको थियो ।

प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार