२०८३ जेठ ६ , बुधबार 20, May 2026, Wednesday

भारतको नयाँ नियमले दुई सातादेखि नेपाली चिया निर्यात ठप्प

सत्यपाटीसत्यपाटी । झापा । २०८३ जेठ ६ गते बुधबार

भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णतः ठप्प भएको छ । भारतको यो नीतिगत कडाइका कारण वार्षिक रु ५ देखि ६ अर्ब वैदेशिक मुद्रा आर्जन गर्दै आएको नेपालको चिया उद्योग गम्भीर सङ्कटमा परेको व्यवसायीहरूले बताएका छन् ।

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गत वैशाख १८ गतेदेखि लागू हुने गरी ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)’ जारी गरेको हो । नयाँ प्रावधानले नेपाली निर्यातकर्तामाथि प्रशासनिक तथा आर्थिक बोझ थपेको छ । ‘चिया निर्यातको यो मुख्य याम हो । अहिले करिब पाँच लाख किलोग्राम चिया निर्यातका लागि तयारी अवस्थामा छ,’ अध्यक्ष पराजुलीले भने ।

उनका अनुसार भारतीय पक्षको नयाँ तथा कडा प्रावधानका कारण कुनै पनि व्यवसायीले चिया भारततर्फ पठाउने जोखिम लिन सकेका छैनन् । दुई सातादेखि एक पोका चिया पनि निर्यात हुन सकेको छैन । यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि सोही प्रमाणपत्रका आधारमा १५ दिनसम्म १० ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो ।

तर, नयाँ नियमअनुसार काँकडभिट्टा नाकाबाट भारतीय सीमावर्ती पानीट्याङ्की भन्सार प्रवेश गर्नेबित्तिकै प्रत्येक ट्रकको चियाको नमुना अनिवार्य रूपमा भारत सरकारबाट मान्यता प्राप्त प्रयोगशालामा परीक्षणका लागि पठाउनुपर्ने व्यवस्था गरिएको छ । प्रतिट्रक नमुना परीक्षणका लागि रु १८ हजार शुल्क तिर्नुपर्नेछ भने त्यसको प्रतिवेदन आउन कम्तीमा १४ दिन लाग्ने बताइएको छ ।

भारतीय प्रयोगशालाले १४ दिनभित्र अनलाइन प्रणालीमा प्रतिवेदन प्रविष्ट गर्ने र परीक्षण असफल भएमा उक्त चियालाई भारतीय बजारमा बिक्री गर्न वा अन्य देशमा निर्यात गर्नसमेत नदिई जफत गरिने कडा प्रावधान राखिएको छ । ‘एकातर्फ हरेक ट्रकको नमुना परीक्षणका लागि महँगो शुल्क र लामो समय लाग्ने नियम बनाइएको छ, जसले निर्यातमा पूर्ण अवरोध सिर्जना गरेको छ,’ पराजुलीले भने, ‘अर्कोतर्फ प्रतिवेदन प्रतिकूल आएमा चिया नै जफत गर्ने प्रावधान छ । यो नियम संशोधन नभए नेपाली चियाको भारत निर्यात गम्भीर रूपमा प्रभावित हुनेछ ।’

नेपाली चियाको प्रमुख बजार भारत नै रहँदै आएको छ । प्रयोगशालाको प्रतिवेदन नआउन्जेल १० देखि १४ दिनसम्म लोड भएका ट्रक सुरक्षित रूपमा रोक्न पर्याप्त पार्किङ स्थल तथा पूर्वाधार पानीट्याङ्की भन्सार क्षेत्रमा समेत नरहेको व्यवसायीहरूको गुनासो छ । चिया क्षेत्रमा देखिएको यो गैरभन्सार अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग तत्काल ‘जी–टु–जी’ (सरकार–सरकार) तहमा संवाद थाल्नुपर्ने नेपाल चिया उत्पादक सङ्घको माग छ । यसका लागि पहल भइरहेको सङ्घले जनाएको छ ।

नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चिया विश्व बजारमा गुणस्तरका लागि लोकप्रिय मानिन्छन् । तर, प्रमुख बजार भारतमै नीतिगत अवरोध सिर्जना हुँदा किसानदेखि ठूला उद्योगीसम्म तथा यसमा आश्रित लाखौँ श्रमिकको जीविकोपार्जन सङ्कटमा पर्ने जोखिम बढेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१–०८२ मा मुलुकको २० हजार ६०२ हेक्टर क्षेत्रफलमा फैलिएको चिया बगानबाट दुई करोड ६१ लाख २३ हजार १११ किलोग्राम तयारी चिया उत्पादन भएको थियो ।

सोही आर्थिक वर्षमा नेपालबाट रु चार अर्ब ५९ करोड आठ लाख ५६ हजार बराबरको चिया निर्यात भएको तथ्याङ्क छ । हाल मुलुकभर १७० वटा ठूला चिया बगान तथा १२० वटा साना तथा मझौला चिया बगान सञ्चालनमा छन् । चिया उत्पादनमा १५ हजारभन्दा बढी साना किसान प्रत्यक्ष संलग्न छन् भने एक लाखभन्दा बढी श्रमिकले बगानदेखि उद्योगसम्म प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार