२०८३ जेठ ६ , बुधबार 20, May 2026, Wednesday

संसदमा कर्णाली र सुदूरपश्चिमको उपेक्षादेखि ट्रमा सेन्टर र मूर्ति चोरीसम्मका मुद्दा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ ५ गते मंगलबार

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले देशका विभिन्न क्षेत्रमा रहेका विकटता, अलपत्र विकास आयोजना, सांस्कृतिक सम्पदाको चोरी र सुशासनका सवालमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सांसद टीका सङ्ग्रौलाले मुलुकको सुदूरपश्चिम र कर्णाली क्षेत्रको विकासमा राज्यले लगानी बढाउनुपर्ने जोडदार माग गरिन् ।

केन्द्र र उपत्यका केन्द्रित विकासको आलोचना गर्दै उनले भनिन्, ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ । सहरमा अवसरको बहस भइरहँदा मधेसका युवा तातो घाममा बेरोजगार हिँडिरहेका छन् । राजधानीमा डिजिटल प्रविधिको कुरा चलिरहँदा नेटवर्क समस्याका कारण फोनमा कुरा गर्न पनि रुखमा चढ्नुपर्ने अवस्था छ, सुदूरपश्चिमका पहाड विकासको तीव्र प्रतीक्षामा छन् ।’

सांसद प्रा.डा.चन्द्रमोहन यादवले धनुषा निर्वाचन क्षेत्र नं.४ स्थित मिथिला नगरपालिका–७ मा निर्माण गर्ने भनिएको डेडिकेटेट ट्रमा सेन्टरको काम अलपत्र परेको भन्दै आपत्ति जनाए । ट्रमा सेन्टरका लागि करिब चार बिघा जग्गा प्राप्ति भइसकेको जानकारी दिँदै उनले भने, ‘अहिलेसम्म कहाँ फाइल अड्किएको हो भन्ने थाहा पाउन सकिएको छैन । हाम्रो जस्तो देशमा शिक्षा र स्वास्थ्यमा बढी लगानी हुनुपर्छ, त्यसैले यो ट्रमा सेन्टर निर्माणको काम तुरुन्त अगाडि बढाइयोस् ।’

सांसद जगतप्रसाद जोशीले सडक निर्माण, पुनर्निर्माण, स्वास्थ्य चौकी तथा खानेपानी ट्याङ्की निर्माण लगायतका विकास कार्यहरू समयमै सक्न सरकारको ध्यानाकर्षण गराए । निर्वाचनका बेला जनतासँग गरिएका परिमाणमुखी वाचाहरू पूरा गर्न तीनै तहका सरकार मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘सडक ठीक समयमा बन्नेछन्, भ्रष्टाचार बन्द हुनेछ, औसत आय र शिक्षाको सूचकाङ्क वृद्धि हुनेछ भनी हामीले वाचा गरेका छौँ । यी उपलब्धि पूरा हुन स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच आपसी तालमेल र मिलेमतो हुन जरुरी छ ।’

सांसद जगदीश खरेलले ललितपुर जिल्लाका विभिन्न ऐतिहासिक तथा पुरातात्त्विक स्थानहरूबाट प्राचीन मूर्तिकलाहरू चोरी भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले हाम्रा पहिचान र धरोहरका रूपमा रहेका कला एवं संस्कृतिको संरक्षणमा विशेष ध्यान दिन र सुरक्षा व्यवस्था कडा पार्न सरकारसँग माग गरे । शून्य समयमा देशका कुनाकाप्चाका समस्या राख्ने क्रममा सांसदहरू जगदीश खरेल (दोलखा), जनकराज गिरी, जनकसिंह धामी, झविलाल डुम्रे, ठाकुरसिंह थारू, तारा विश्वकर्मा, ताहीर अली भाट, तौफिक अहमत खान, दीपककुमार साह (सुनसरी) सरकारको जवाफ माग गरे ।

त्यसैगरी धनन्जय रेग्मी, धनेन्द्र कार्की, धर्मराज केसी, ध्रुवराज राई, नरेन्द्रकुमार केरुङ, नरेन्द्रकुमार गुप्ता, नितिमा भण्डारी (कार्की), निरासा चौधरी (डगौरा), निशा डाँगी, निश्कल राई, नीनुकुमारी कर्ण, पवित्रा विक, परशुराम तामाङ, पार्वती विक, पुकार बम, पुरुषोत्तम सुप्रभात यादव, पुष्पाकुमारी चौधरी, प्रकाश गौतम, प्रकाश पाठक, प्रदीप विष्ट, प्रभा ढकाल, प्रमिलाकुमारी गच्छदार, प्रमिला कुलुजु, प्रशान्त उप्रेती, प्रेमबहादुर बयक, प्रेमलाल चौधरी, बदनकुमार भण्डारी र बब्लु गुप्ता लगायतले आ–आफ्नो क्षेत्रका बाढीपहिरो, सडक पूर्वाधार, मलखादको अभाव र स्थानीय जनचासोका विविध मुद्दाहरू सदन समक्ष राख्दै सरकारको जवाफ माग गरे ।

प्रकाशित मिति : २०८३ जेठ ५ गते मंगलबार