भारतले बुधबारदेखि लागू हुने गरी नेपालसहित अन्य मुलुकतर्फ चिनी निर्यातमा पुनः प्रतिबन्ध लगाएपछि नेपाली बजारमा आपूर्ति अवरोध र मूल्यवृद्धिको चिन्ता बढेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले कच्चा, सेतो तथा प्रशोधित चिनीको निर्यात नीति संशोधन गर्दै निर्यातलाई ‘निषेधित’ सूचीमा राखेको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार ‘एल निनो’ को प्रभावका कारण खडेरी, कृषि उत्पादनमा गिरावट तथा आन्तरिक बजारमा मूल्य वृद्धि हुन सक्ने अनुमानपछि भारतले चिनी निर्यात नियन्त्रण गर्ने निर्णय गरेको हो । नयाँ व्यवस्था ३० सेप्टेम्बर २०२६ सम्म वा अर्को सूचना जारी नभएसम्म कायम रहने बताइएको छ ।
ब्राजिलपछि विश्वकै प्रमुख चिनी निर्यातकर्तामध्ये भारतले यसअघि १५ लाख ९० हजार टन चिनी निर्यात गर्न अनुमति दिएको थियो । तर नयाँ प्रतिबन्धले नेपालजस्ता आयातमा निर्भर मुलुक प्रत्यक्ष प्रभावित हुने देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले चिनी प्रतिबन्धबारे सरोकारवालासँग छलफल गरिने बताएका छन् ।
उनका अनुसार आवश्यक परे वैकल्पिक स्रोतबाट चिनी आयात गर्ने तथा भारतसँग सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत समन्वय गर्न सकिनेछ । यसअघि सन् २०२३ मा भारतले चिनी निर्यात रोकेको समयमा नेपाली बजारमा चिनीको मूल्य ह्वात्तै बढेको थियो । दसैंअघि प्रतिकिलो ८८ रुपैयाँमा पाइने चिनी कालोबजारमा १६० रुपैयाँसम्म पुगेको थियो । नेपालले ६० हजार टन चिनी आयात अनुमति मागे पनि भारतले २५ हजार टन मात्र स्वीकृति दिएको थियो ।
व्यापार विज्ञहरूले भारतको संरक्षणवादी नीतिले नेपालजस्ता परनिर्भर अर्थतन्त्रलाई बारम्बार प्रभावित पारिरहेको बताएका छन् । भारतले यसअघि गैरबासमती चामलको निर्यातमा पनि प्रतिबन्ध लगाउँदा नेपाली बजारमा मूल्यवृद्धि भएको थियो । रविशंकर सैंजुका अनुसार खाद्यान्नमा भारतमाथिको अत्यधिक निर्भरता नेपालका लागि जोखिमपूर्ण बन्दै गएको छ । अन्य मुलुकबाट आयात गर्दा ढुवानी खर्च बढ्ने र विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने भएकाले खाद्य सुरक्षा सम्बन्धी छुट्टै रणनीति आवश्यक रहेको उनले बताएका छन् ।
कृषि तथा खाद्य विज्ञ देवेन्द्र गौचनले कम वर्षा, रासायनिक मल अभाव तथा बढ्दो इन्धन मूल्यका कारण नेपालमा खाद्य सुरक्षाको चुनौती थप गम्भीर बन्न सक्ने चेतावनी दिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार हाल नेपालमा करिब २ हजार टन चिनी मौज्दात छ । मुलुकमा मासिक २० देखि २५ हजार टन चिनीको माग हुने र चाडपर्वमा यो ३० हजार टनसम्म पुग्ने बताइएको छ । नेपालमा वार्षिक करिब १ लाख टन चिनी अभाव हुने भएकाले ठूलो हिस्सा आयातमार्फत पूर्ति गरिन्छ ।
सत्यपाटी