सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रि–इन्स्योरेन्स ब्रोकिङ कम्पनी कारवाहीमा परेका छन् । बीमा निर्देशिकामा गरिएका व्यवस्था पालना नगरेको भन्दै बीमा प्राधिकरणले दुई कम्पनीलाई कारवाही गरेको हो ।
कारवाहीमा परेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई ‘सम्पत्ति बीमा निर्देशन २०८०’ को दफा २५ (२) को व्यवस्था पालना नगरेको भन्दै कारवाही गरिएको प्राधिकरणले जनाएको छ ।
उक्त व्यवस्था अनुसार बीमा कम्पनीले जारी गर्ने बीमालेखको बीमा शुल्कमा कुनै प्रकारको छुट, रिहायत, कटौती वा सहुलियत दिन नपाइने उल्लेख छ । तर, कम्पनीले उक्त व्यवस्थाको पालना नगरेको पाइएपछि प्राधिकरणले कारवाही गरेको हो ।
प्राधिकरणका अनुसार कारवाही परेको सगरमाथा इन्स्योरेन्सलाई ‘बीमा ऐन २०७९’ को दफा १३८ को उपदफा (४) खण्ड (क) बमोजिम दुई लाख जरिवाना तिराइएको छ ।
यता लर्ड बुद्ध रि–इन्स्योरेन्सलाई भने ‘पुनर्बीमा दलालसम्बन्धी निर्देशिका, २०७८’ को दफा १५ को उपदफा (१) र (२) को व्यवस्था पालना नगरेको भन्दै कारवाही गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उक्त कम्पनीलाई कारवाहीस्वरुप पाँच हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
सत्यपाटी