भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाई गरिएपछि यहाँको गौरीफन्टा नाकाको नेपालतर्फका व्यापारिक गतिविधिहरुमा पछिल्लो समयमा चहलपहल बढेको पाइएको छ । पहिले सामान्य किनमेलदेखि धेरै बजार गर्नका लागि पनि स्थानीय नागरिक पारितर्फको बजारमा जाने गरेकोमा पछिल्लो समय नेपाल सरकारले रु १०० भन्दा बढीको सामानमा भन्सार कडाइ गरेपछि अहिले नेपालीतर्फको बजारमा नै किनमेल बढेको छ ।
यसरी नेपालतर्फको बजारमा चहलपहल बढ्नुका साथै व्यवसायमा पनि बृद्धि भएपछि नेपाली व्यवसायीहरु खुसी भएको बताएका छन् । उनीहरुले बर्षाैंदेखि सुनसान रहने बजारमा पनि अहिले व्यापारिक गतिविधि बढ्न थालेको जानकारी गराएका हुन् । धनगढीका स्टेशनरी व्यवसायी बिजयराज पन्तले पहिलेको तुलनामा व्यापारिक गतिविधि केही बढेको बताउछन् ।
उनले भने, ‘पहिले नेपाली उपभोक्ताहरु दुई किलो चिनी लिन पनि सीमापारि जान्थे, अहिले पारिका बजार नगई चिनी लगायतका समान नेपाली बजारबाटै खरिद गर्दा सकारात्मक प्रभाव परेको छ ।’ उनका अनुसार पहिलेको तुलनामा हालका दिनहरुमा चहलपहल बढेको भए पनि अपेक्षित सुधार भने नभएको अनुभव सुनाए । धनगढीका उपभोक्ता कृष्णबहादुर चौधरीले घरमा छोरीको विवाहका लागि तयारी कपडा किन्न सीमापारि बनगाउँ बजार पुगेर फर्किदा सीमामा सास्ती खेप्नुपरेको गुनासो गरे ।
उनले भने, ‘सीमामा प्रहरी अधिकारीसँग विवाद भयो र ल्याइएका समानको आफूले भन्सार तिरेर लैजान बाध्य भएँ ।’ सीमा पारीको बनगाउँ बजारबाट छोरीको विवाहमा चाहिने रु १२ हजार ४०० को तयारी लुगा भित्र्याउँदा भन्सार कार्यालयले सात हजार ९४५ रुपैयाँ कर लिएको उनले सुनाए । तर सीमा क्षेत्रमा प्रहरीको सम्झाईबुझाईभन्दा पनि दबाब बढी हुने गरेको उनको अनुभव छ । विदेशबाट आयात हुने समानमा अधिकतम् खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गरिएपछि भन्सार कार्यालयको काम केही प्रभावित पनि भएको छ ।
कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सेनाले पेट्रोलिमय पदार्थमा ५० प्रतिशत छुट दिने सरकारको निर्णयले चैत महिनाको तुलनामा यो महिना पेट्रोलियममा मात्र ३० प्रतिशतले राजश्व सङककलन प्रभावित भएको बताए । उनले भने, ‘एमआरपी (अधिकतम खुद्रा मूल्य)को जाँच पासमा समस्या सिर्जना हुँदा पनि राजश्व प्रभावित हुन पुगेको छ ।’ १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लिने व्यवस्थामा कडाई गरिँदा धेरै नेपाली उपभोक्ता किनमेलका लागि सीमा पारीका बजारसम्म जान रोकिएको उनी बताउँछन् ।
उनले भने, ‘भन्सार शुल्क उठाउन कडाई गरिएपछि सीमापारी जानेहरु हाल शून्य प्राय छन्, धेरैजसो नेपाली उपभोक्ताहरु पर्ख र हेरको अवस्थामा बसिरहेको पाइन्छ । तर अहिलेका लागि भने उनीहरु नेपाली बजारमै किनमेल गरिरहेका छन् ।’ यात्रुले रु १०० भन्दा बढीको मालवस्तु ल्याउँदा भन्सार लाग्ने पुरानै व्यवस्थालाई कार्यान्वयन गर्न अहिले कडाई मात्र गरिएको उनले बताए । भन्सार कार्यालयले भित्रिने मालवस्तुमा बढीमा ३९ प्रतिशतसम्म भन्सार शुल्क लिने गरेको छ ।
राजश्व चुहावट नियन्त्रण गर्न रु १०० भन्दा बढीका मालवस्तुमा कडाइका साथ भन्सार लिने कार्यले सकारत्मक प्रभाव देखिएको कतिपय नेपाली व्यपारीको प्रतिक्रिया छ । उनीहरु चुहावट नियन्त्रण गर्न सीमामा बस्ने कार्यालय र कर्मचारीलाई थप सशक्त र सक्रिय बनाउनुपर्ने बताउँछन् । सीमावर्ती क्षेत्रका नेपाली उपभोक्ताहरु मलबस्तु खरिद गर्न सीमा पारी पुग्नुपर्ने समान्य जस्तै थियो । तर अहिले भने भन्सारमा कडाई गरिएपछि साइकलमा मालवस्तु भित्र्याउनेहरुको गतिविधि ह्वात्तै घटेको छ ।
कैलालीको पहलमानपुरका तेजनारायण चौधरी सीमामा मालवस्तु ल्याउन कडाई गरिएपछि चोर नाकाबाट अवैध चोरी हुनेक्रम पनि बढ्ने आशङ्का गर्नुहुन्छ । अहिले यदाकदा उपभोक्ताहरुले यस्तो बाटो प्रयोग गरिरहेको पनि उनले सुनाए । उनले भने, ‘भारतमा बनेको लुगा धुने एक पोका निर्मा पाउडरको नेपाली बजारमा रु १५० सम्म मूल्य पर्न थालेको छ, पहिले यो पाउडर रु १०० मा पाउँथ्यो । यो समान चोर नाकाबाट भित्रिएको हुनसक्ने आशङ्का छ ।’ भन्सारमा कडाई गरिएपछि भारतको सीमावर्ती बजार बनगाउँमा चहलपहल घटेको छ ।
नेपाली उपभोक्तालाई लक्षित गरेर सञ्चालन गरिएको उक्त बजारमा किनमेल गर्ने मध्ये झण्डै ९० प्रतिशत उपभोक्ता यस अघिसम्म नेपाली थिए । बजारमा नेपाली मुद्रामा कारोवार पनि सहज रुपमा हुने गरेको छ । यसरी दिनहुँ मालबस्तुमा भन्सार महशुल लिने कार्य राम्रो भए पनि विवाह, ब्रतबन्ध र कतिपय घरायसी प्रयोजनका लागि भित्र्याइने सामानहरुमा भन्सार महशुल लिने कुरा केही व्यवहारिक बनाउनुपर्ने स्थानीय नागरिकको सुझाव छ ।
‘व्यापारिक हिसाबले ल्याइने समानमा भन्सार शुल्क कडाइका साथ लिनुपर्छ,’ तेजनारायण चौधरीले भने, ‘तर विवाह ब्रतबन्ध र घर खर्चका लागि ल्याइने समानमा भन्सार शुल्क लिने कुरा व्यवहारिक नभएकोले यसमा केही पुनर्विचार गर्नु जायज हुन्छ । यसो हुँदा हाम्रो वारिपारिको व्यापारिक मात्र नभएर अन्य सम्बन्धका साथै धेरै कुराहरुमा पनि सहज हुन जानेछ ।’
