२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

नेकपाको महाधिवेशन मंसिरमा, सबै तहमा ५० प्रतिशत युवा अनिवार्य

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख १९ गते शनिबार

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवशेन गर्ने निर्णय गरेको हो ।

आगामी साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने नेकपाले जनाएको छ । त्यस्तै, भदौ १५ गतेसम्म वडा र भदौ १६ देखि मसान्तसम्म पालिका अधिवेशनको मिति तोकिएको छ । त्यसपछि असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

आगामी जेठ मसान्तभित्र केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, वडा तथा टोल तहसम्मका सङ्गठनात्मक र पार्टी तथा जनवर्गीय मोर्चा सङ्गठनहरूको एकीकरण तथा समायोजन गरिसक्ने प्रवक्ता ज्वालाले जनाएका छन् । नेकपाको वडादेखि केन्द्रसम्मका सबै कमिटी समानुपातिक र समावेशी मान्यता अनुसार निर्वाचित हुने र निर्वाचित कमिटीमा अनुभवी, प्रौढ र युवा तथा नवयुवाको समावेशीता रहने भएको छ । युवा र नवयुवाको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्याइने जनाइएको छ ।

नेकपाले नेताहरू देवप्रसाद गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रनध्वज लिम्बू, रेखा शर्मा, गणेश विश्वकर्मा, वरिष्ठ अधिवक्ताद्वय डा.मुक्तिनारायण प्रधान र डा.खिमलाल देवकोटा, अधिवक्ता जगदेव चौधरी, डम्बरबिक्रम कार्की र डा.रामबहादुर चौधरी रहेको संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । पार्टी एकीकरणपश्चात गठन भएको कार्यसंयोजन समितिको गत चैत १९ देखि वैशाख १४ सम्म चलेको बैठकले पार्टीको अन्तरिम विधान–२०८२ अनुसार पार्टीको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता ज्वालाले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ वैशाख १९ गते शनिबार