काभ्रेपलाञ्चोकको डाँडापारि महाभारत गाउँपालिकामा भइरहेको व्यावसायिक कफी खेतीले देशका अन्य क्षेत्रका कृषकहरूको ध्यान आकर्षित गरेको छ । गण्डकी प्रदेशको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकाका करिब ६० जना कृषकहरूले महाभारतमा सञ्चालन भइरहेको कफी खेती, प्रविधि र उत्पादन प्रणालीको अवलोकन गरेका छन् ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी नेतृत्वको टोलीले कफी खेतीको अवलोकन गर्दै बाँझो जमिनलाई उपयोगमा ल्याएर गरिएको यस अभ्यासले ग्रामीण अर्थतन्त्र रूपान्तरण गर्न सक्ने धारणा व्यक्त गरेको छ । कफी उत्पादक सहकारी सङ्घका अध्यक्ष आनन्द सुवेदीले महाभारतको मोडललाई मध्यपहाडी क्षेत्रमा विस्तार गर्नुपर्ने सुझाव दिएका छन् ।
महाभारत गाउँपालिकाले ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु.२० को नोट’ भन्ने नारासहित ‘एक वडा एक उत्पादन’ अभियान सञ्चालन गर्दै कफी खेतीलाई मुख्य आर्थिक आधार बनाउने प्रयास गरिरहेको छ । इजरायली प्रविधिको मल्चिङ, थोपा सिँचाइ, छायाँ विधि र आधुनिक नर्सरी व्यवस्थापनमार्फत उत्पादन वृद्धि गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार हालसम्म करिब तीन हजार २०० रोपनी क्षेत्रमा व्यावसायिक कफी खेती विस्तार भइसकेको छ । तीन लाखभन्दा बढी बिरुवा वितरण गरिएकोमा यस वर्ष मात्रै थप एक लाख बिरुवा उत्पादन गरिएको छ । उत्पादन र बजार विस्तारसँगै महाभारतबाट वार्षिक ८० टनभन्दा बढी कफी निर्यात हुन थालेको पनि जनाइएको छ ।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार कफी खेतीले विदेश पलायन घटाउने, बाँझो जमिन उपयोग गर्ने र गाउँमै रोजगारी सिर्जना गर्ने सम्भावना देखाएको छ । कृषकहरूले महाभारतको मोडललाई “कृषि पर्यटन र उत्पादनको संयुक्त उदाहरण”का रूपमा विकसित गर्न सकिने बताएका छन् ।
सत्यपाटी