चालु आर्थिक वर्षको पहिलो नौ महिना (साउन–चैत)सम्म नेपालको व्यापार घाटा १२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कुल १४ खर्ब ९० अर्ब रुपैयाँको आयात भएको छ भने निर्यात २ खर्ब २२ अर्ब रुपैयाँमा सीमित रहेको छ ।
गत वर्षको तुलनामा आयात १३ प्रतिशतले बढेको छ भने निर्यात १८ प्रतिशतले वृद्धि भए पनि समग्र व्यापार सन्तुलनमा सुधार आउन सकेको छैन । नौ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ, जसमा आयातको हिस्सा ८७ प्रतिशत र निर्यातको हिस्सा १३ प्रतिशत मात्रै रहेको छ ।
आयाततर्फ हेर्दा कृषिजन्य वस्तु र पेट्रोलियम पदार्थको प्रमुख हिस्सा रहेको छ । यस अवधिमा तीन खर्ब १७ अर्ब रुपैयाँ बराबरका कृषिजन्य वस्तु आयात भएका छन् भने दुई खर्ब ५० अर्ब रुपैयाँ बराबरका पेट्रोलियम पदार्थ आयात भएका छन् । इन्धन आयातमा डिजेल अग्रस्थानमा रहेको छ, जसको आयात एक खर्ब तीन अर्ब रुपैयाँ बराबर भएको छ ।
त्यस्तै सोयाबिन तेल ७६ अर्ब, पेट्रोल ५० अर्ब र ग्यास ४१ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । यसैबीच, स्मार्टफोन पनि आयात हुने शीर्ष पाँच वस्तुमा परेको छ । नौ महिनामा २५ अर्ब ६२ करोड रुपैयाँ बराबरका स्मार्टफोन नेपाल भित्रिएका छन् ।
सत्यपाटी