२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

‘राप्ती नदी कटानको दीर्घकालीन समाधान चाहिन्छ’

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख ८ गते मंगलबार
राप्ती नदीको कटान रोक्न खल्ला झगडियामा निर्माण गरिएको अस्थायी तटबन्ध ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–१ होलियाको पिप्रहवा गाउँका बासिन्दाहरु केही समय अघिसम्म राप्तीनदी कतिबेला गाउँ पस्छ भनेर सधै त्रासमा हुन्थे । तर अहिले नदीले धार परिवर्तन गरि पूर्वतर्फ सरेपछि पिप्रहवा, टेपरी आसपासका गाउँका बासिन्दाहरु बाढीको त्रासबाट ढुक्क भएका छन् ।

स्थानीय राजकुमार शुक्लाले राप्ती नदीले धार परिवर्तन गरेपछि नदी कटान र बाढीको सधै उच्च जोखिममा रहेको बस्तीका बासिन्दा ढुक्कसँग निदाउन पाएको बताउँछन् । शुक्लाले भने, ‘केही बर्षअघिसम्म नदी गाउँनजिकै बग्थ्यो, बर्षातको समयमा गाउँभित्रै पनि नदी पस्थ्यो, अहिले भने नदी पुर्बतर्फ सरेपछि बाढीको त्राष अन्त्य भएको छ ।’

डुडुवा–२ सन्तलियाका राजेशकुमार बर्माले बिगतमा डुडुवा नालाको किनारमा रहेका बस्तीहरु राप्तीनदी त्यही मिसिदा बाढी आएको भन्दै अहिले नदीले धार परिवर्तन गरेपछि बाढीको जोखिम कम भएको बताए । डुडुवामा समेत बाढी नियन्त्रणका लागि ठाउँठाउँमा पक्कि तटबन्धको काम भईरहेको स्थानीय बासिन्दाले जनाएका छन् ।

राप्ती नदीको बाढीका कारण होलियाको पिप्रहवा, खडैचा, टेपरी, चौफेरी, सन्तलिया लगायतका गाउँहरु सबैभन्दा बढि प्रभावित भएकोमा अहिले नदीले धार परिवर्तन गरेपछि स्थानीयहरु बाढीको समस्या हटेको बताउँछन् । नदी पूर्वतर्फ स्थानान्तरण भएपछि राप्तीसोनारीको फत्तेपुर, नरैनापुरको भोजभगवानपुर लगायतका गाउँहरु बाढीको उच्च जोखिममा परेका छन् ।

देशमा हालै सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन भएसँगै बाँकेको राप्ती नदी किनारका बस्तीमा बसोवास गर्ने नागरिकहरूले बाढी तथा कटानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग गरेका छन् । हरेक वर्ष वर्षायाममा राप्ती नदीमा आउने बाढी र तीव्र कटानका कारण राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका दर्जनौँ गाउँबस्तीका हजारौँ स्थानीय प्रभावित तथा जोखिममा पर्ने गरेका छन् ।

स्थानीयहरूले नयाँ सरकारप्रति आशा र विश्वास व्यक्त गर्दै आफ्नो समस्या स्थायी रूपमा समाधान हुने अपेक्षा राखेका छन् । राप्तीसोनारी–७ का शिवप्रसाद मौर्यले नदीका दुवै किनारमा पक्की तटबन्ध निर्माण गर्न सके बाढी र कटानको जोखिम न्यूनीकरण हुने बताए । उनले विगतमा नदी नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन नभएको र काम प्रभावकारी रूपमा नहुँदा समस्या कायमै रहेको उल्लेख गर्दै नयाँ सरकारले जनसुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने माग गरे ।

गत वर्ष ‘जनताको तटबन्धन कार्यक्रम’ अन्तर्गत लमहीदेखि राप्तीसोनारी–७, खल्ला झगडिया आसपास क्षेत्रमा पक्की तटबन्ध निर्माण गरिएको थियो । त्यस्तै खल्ला झगडिया र जरैयामा बाँस प्रयोग गरी बेम्बो पाइलिङमार्फत अस्थायी तटबन्ध निर्माण गरी कटान नियन्त्रणको प्रयास गरिएको भए पनि अन्य स्थानमा समस्या यथावत् रहेको स्थानीयको भनाइ छ ।

राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारूले जोखिमयुक्त क्षेत्रमा बलियो तटबन्ध निर्माण गर्नु नै समस्या समाधानको मुख्य उपाय भएको बताए । त्यसैगरी नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले राप्ती नदीबाट भइरहेको कटान र डुबानको दीर्घकालीन समाधान खोज्न आवश्यक रहेकोमा जोड दिए ।

राप्ती नदीको तीव्र कटानका कारण राप्तीसोनारी र होलिया आसपासका क्षेत्रमा निर्माण गरिएका अस्थायी माटोका तटबन्ध भत्किने जोखिम बढेपछि गत वर्ष बेम्बो पाइलिङ तथा थप तटबन्धन गरिएको थियो । हाल निरन्तर कटानका कारण राप्तीसोनारीका देउपुरा, पिप्रहवा, खल्ला झगडिया, भवानियापुर, गेदवा, नरैनापुर–६ का सोनवर्षा, कुदरबेटवा, गङ्गापुर, नरैनापुर–५ का भोजपुर, नेवाजी गाउँ तथा डुडुवा–१, कुदवा गाउँ लगायतका बस्ती उच्च जोखिममा रहेका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख ८ गते मंगलबार