पुरातत्व विभागका तत्कालीन इन्जिनियर पूर्णबहादुर श्रेष्ठसमेत दुई जनाविरुद्ध भ्रष्टाचारसहित सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा दुवै मुद्दा दर्ता गरेको हो ।
श्रेष्ठसँगै आयोगले पुरातत्व विभागका सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरू दुवै जनाविरुद्ध चार करोड २२ लाख ७५ हजार ९८५ रूपैयाँ बिगो कायम गरिएको छ ।
उनीहरूले एउटा ठेक्का पाएका निर्माण सेवाका सञ्चालक तथा सम्बद्ध जेभीहरूको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा घुस रकम लिएको अभियोगपत्रमा उल्लेख छ । घुसवापत बैंक खातामा पाएको उक्त रकम मध्येबाट दुवै जनाले संयुक्त नाममा सम्पत्ति समेत खरिद गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।
उनीहरूले ६४ करोड २१ लाख ८९ हजार ६०३ रूपैयाँको एउटा जेभी ठेक्काबाट पटक–पटक गरी बैंक खातामा चार करोड २२ लाख ७५ हजार ९८५ रूपैयाँ घुस लिएको आयोगको अनुसन्धानबाट प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएका छन् ।
उनीहरूले घुसवापत पाएको उक्त रकमबाट जग्गा खरिद, सुन खरिद, विभिन्न व्यक्तिलाई भुक्तानी समेत गरी सम्पत्तिको गैरकानूनी स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गर्ने कार्य गरेको हुँदा सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरमा समेत मुद्दा दायर गरिएको आयोग प्रवक्ता न्यौपानेले जनाएका छन् । त्यसका साथै घुस लिएको कसुरमा अर्को भ्रष्टाचार मुद्दा समेत विशेष अदालतमा दायर भएको उनले बताए ।
सत्यपाटी